
बागलुङ, १५ चैत्र
प्रम्परागत रुपमा संचालन हुँदै आएको चैत्राष्टमी मेला–२०७३ को सम्पूर्ण तयारी पुरा भएको छ ।
‘गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबद्र्धन’ भन्ने नाराका साथ बुधबारदेखि कालिका भगवति मन्दिर परिसरमा संचालन हुने मेलाको भौतिक निर्माण तथा आर्थिक अभियान सम्पन्न भएको मेला आयोजक मुल समितिले जानकारी दिएको छ ।
विभिन्न आठ संघ संस्थाको संयुक्त आयोजनामा संचालन हुने मेलाको पहिलो दिन बुधबार दिउँसो दुई बजेदेखि अन्तर कलेज चैत्राष्टमी कल धौलागिरी अंचल स्तरीय फूटबल प्रतियोगीता सुरु हुने कालिका भगवति गुठीको अध्यक्ष राजु खडकाले जानकारी दिनुभयो । हालसम्म फुटबल प्रतियोगीतामा बागलुङ, म्याग्दी र पर्वतका गरी १२ विद्यालयले नाम दर्ता गराएका छन् । प्रतियोगीतामा विजेताले नगद ४० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद प्रदान गरिने छ ।
त्यस्तै, चैत्र १८ गतेदेखि संचालन हुने अन्तर गाविस कालिका कप धौलागिरी अंचल स्तरीय भविबल प्रतियोगीतको प्रथम पुरस्कार नगद एक लाख ३३ हजार तीन सय ३३, द्धितीय पुरस्कार नगद ८८ हजार ८ सय ८८, तृतीय पुरस्कार नगद २०/ २० हजार रुपैयाँको व्यवस्था गरिएको छ । भविबलको लागि २० समूहले नाम दर्ता गरेको अध्यक्ष खडकाले जानकारी दिनुभयो ।
चैत्र १९ गतेदेखि संचालन हुने खुल्ला लोकदोहोरी गीत प्रतियोगीतामा १० समूहले सहभागीता जनाउने छ । प्रतियोगीतामा विजयी हुने समूहले एक लाख, उपविजेताले ५१ हजार र तृतीय हुने समूहले ३३ हजार नगद प्रदान गरिने छ । मेलाको अवसरमा छेलो प्रतियोगीता पनि समावेश गरिएको छ । मेलाको चैत्र २२ गते उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले उद्घाटन गर्ने बताइएको छ ।
मेला संचालनको लागि करिव २२ लाख ९० हजार रुपैँया खर्च अनुमान गरिएको छ । मेलाको कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, बागलुङ नगरपालिका, धौलागिरी अंचल बस व्यवसायि संचालक समिति, रामरेखा सामुदायिक वन उपभोक्ता समूह, धौलागिरी अंचल जीप व्यवसायि समिति, बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायि संघ र सुनचाँदी व्यवसायी संघ मेला आयोजक संस्थाको रुपमा रहेका छन ।










