धम्जामा चक्कु प्रहारबाट साथीको हत्या

बागलुङ, २७ साउन । बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा माझकटेरामा धारिलो हतियार (चक्कु) प्रहार गरी एक जनाको हत्या भएको छ ।

धम्जामा श्रमिकको रुपमा बसोबास गर्दै आएका ढोरपाटन नगरपालिका–५ बस्ने २५ वर्षीय अर्जुन घर्तीले ढोरपाटन नगरपालिका–७ बस्ने करिब ४० वर्षीय अशोक खत्रीलाई धारिलो हतियार (चक्कु) प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चक्कु प्रहारपछि गम्भीर घाइते भएका खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी चौकी धम्जा बिहुका प्रहरी सहायक निरीक्षक रमेश चौधरीले जानकारी दिनुभयो ।

घटना लगत्तै स्थानीयवासीले चक्कु प्रहार गर्ने घर्तीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाइले मृतक खत्री र आरोपी घर्ती केही दिनअघि घम्जामा रहेको निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएको र स्थानीय क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताउनुभयो ।

प्रउ प्रसाइले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।