ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

बागलुङ, ५ साउन । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङमा सोमबार राति सडक माथिबाट अचानक खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ । पहिरोका कारण साल्झण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग १ य ९८२ नम्बरको स्कर्पियो सुकुर्दुङमा पहिरोको चपेटामा परेको हो । स्कर्पियोमा आन्तरिक पर्यटक सवार रहेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । गाडीमा रहेका सबै यात्रु समयमै बाहिर निस्किएकाले उनीहरू सकुशल रहेका छन् ।

उहाँका अनुसार पहिरोमा पुरिएको स्कर्पियो निकाल्न तथा अवरुद्ध सडक सञ्चालनमा ल्याउन डोजरलगायतका मेसिन परिचालन गरिएको छ । प्रहरी, स्थानीयवासी र सम्बन्धित निकायको समन्वयमा पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास जारी छ ।

लगातारको वर्षासँगै पहिरो खस्ने क्रम बढेकाले उक्त सडक खण्ड भएर यात्रा गर्ने सवारीसाधन र यात्रुलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।