
काठमाडौं, १६ साउन । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परेर विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको छ । पुर्जा संस्थापक रहेको आरोहण कम्पनी इलाइट एक्सपे ले शनिबार फेसबुक पोस्टमार्फत आधिकारिक पुष्टि गरेको हो ।
उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको ज्यान गएको पुष्टि गरेको हो ।
वक्तव्यअनुसार उक्त दुर्घटनामा उनका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ युक्ता र निमा शेर्पाको पनि मृत्यु भएको छ। टोलीका अन्य केही सदस्य पनि दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।
टोलीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं। साथै, अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ ।’
वक्तव्यमा निम्सदाइसहित दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार, साथीभाइ र आफन्तप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, शोकमा रहेका परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ।
निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रका महान् आरोहीमध्ये एक, साहस, विनम्रता र दृढ आत्मविश्वासका प्रेरणादायी नेता भएको उल्लेख गर्दै उनका असाधारण उपलब्धिभन्दा पनि ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न लाखौं मानिसलाई प्रेरित गरेको जनाइएको छ।
वक्तव्यमा भनिएको छ, ‘उनको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको स्थानमा पुर्यायो। उनले परिवर्तन ल्याएका असंख्य जीवन र प्रेरित गरेका मानिसहरूमार्फत उनको योगदान सधैं जीवित रहनेछ ।’ ब्रड पिकमा बिहीबार बिहान ९ः२० बजे हिमपहिरो गएपछि १० पर्वतारोही सम्पर्कविहिन भएका थिए ।










