बागलुङ जिल्लाका घुमेका पर्यटकीय स्थानहरू…

याम बहादुर थापा मगर
बागलुङ जिल्लाको भ्रमण गर्न छुटेका स्थल
बागलुङ जिल्लामा अहिलेसम्म पनि भ्रमण वा पर्यटनका हिसाबले पुग्न नसकेका अझै थुप्रै गाउँहरू र प्रसिद्ध स्थलहरु रहेका छन् । पैयुथन्थाप माइको मन्दिर, रेश गाउँको सहिद पार्क र चिया बगानमा अझै जाने मेसो परेको छैन । त्यसै गरी ताराखोलाको गोल्डेन टि–स्टेट र बिहुँकोटको रामकोट मन्दिर समेत जाने कार्यक्रम जुध्न नसकेको तितो यथार्थता छ । त्यसै गरी काठेखोला गाउँपालिकाको तंग्रामको ठुलो नगरा र झुलेनीडाँडा सहित फापरखेत गाउँ पुग्न सकेको छैन । रिघा गाउँको बुद्ध शान्ति विहार, रायँडाडाको शान्ति विहार भ्रमण गर्ने योजना बुन्न नपाएको अवस्था छ । राङखानी गाउँको हाँडीकोट भ्यु टावर डाँडा, पाण्डवखानीको रमुवा गाउँ, नर्जाखानीको अग्लो नौ डल्ले पहाडमा आगामी दिनमा योजना बनाएर जाने हो । बागलुङ नगरपालिकामा रहेको कालीमाटी नजिकको बुद्ध हिल, संसारकोट, मालिका गाउँको पञ्चासे लेक कहिले पुग्ने होला भनी आगामी दिनमा योजना बनाउन बाँकी छ । त्यसैगरी बुङखानीको बाटो हुँदै ढोरपाटन पदयात्रा गर्ने र बुकी लेकमा भेडी गोठ हप्ता दिन बिताउने योजना अधुरो नै रहेको छ । नर्जाखानी हुँदै गुर्जाखानी पुगी मुना, ताकमको बाटो हुँदै दरवाङ फन्को लगाउने पदयात्रा अधुरो नै छ । अर्को तिर शोले डाँडा हुँदै बल्लेको धुरीबाट बेलढुंगा, धम्जा हुँदै बागलुङ बजार आउने ग्रेट टुर गर्ने साहसिक पदयात्रा गर्ने योजना पुरा गर्न बाँकी नै छ । बल्लेको धुरीमा गएर फागु पूर्णिमामा रङ्ग खेल्ने धोको छ ।

मानिसले देश विदेश घुमेको गफ लगाउँछन् । तर नजिकको तीर्थ हेला भने झैँ आफ्नो जिल्ला भित्रका पर्यटकीय स्थलहरू भ्रमण गर्न नसकेको हुनाले आलेख अध्ययन गर्ने साथीहरूलाई बागलुङ जिल्ला भित्रका नौलो स्थानमा घुम्ने सोच आओस् भन्नका लागि तयार गरिएको आलेख हो ।

बागलुङ जिल्लामा घुमेका थप स्थलहरूको जानकारी
गलकोट नगरपालिकाको रिघामा संविधान सभाका सदस्य नर बहादुर थापा मगरलाई दसैँ पूर्णिमाको सन्दर्भमा मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको र प्रमुख अतिथि बनाएको कार्यक्रममा जान मलाई मेसो मिल्यो । कार्यक्रममा नृत्य, गीत लगायत सम्मान कार्यक्रम गरिएको थियो । सो समयमा रिघा स्वास्थ्य चौकीमा कार्यरत डिल बहादुर थापा, अर्का स्वास्थ्य कर्मी लक्ष्मी घर्ती मगरसँग भेटघाट हुने काम भयो । जनसहभागिता बहुत जुटेको थियो । गलकोट नगरपालिका अन्तर्गत रिघाका वर्तमान वडा अध्यक्ष डम्मर बहादुर श्रीसको स्वागत सत्कार बहुत सम्झना लायक थियो । सो रिघाको कार्यक्रम सकेर हामी दगातुन्नडाँडामा स्थानीय युवा क्लबले आयोजना गरेको सराय नाच नाच्ने दगा गाउँमा पुग्ने काम भयो । मेला लामो समयसम्म लाग्ने छनक मेला स्थल वरपरको थुप्रै पसलहरूले झझल्को दिन्थ्यो । हामी केही छिन सराय नाच नाचेर सामान्य उद्घाटन मन्तव्य राखेर सुनिल शेरचन, विष्णु भुसाल सहित खरवाङ बजार झरेर बागलुङ बजार आउने काम भयो ।

बडिगाड गाउँपालिकाको ग्वालीचौरमा रहेका प्रसिद्ध थानापती मन्दिरमा योजनाको अनुगमन गर्ने सिलसिलामा रमणीय स्थलको .भ्रमण भएको थियो । बडिगाड गाउँपालिका अन्तरगत ग्वालीचौरमा लाग्ने न्वागी मेलाको सन्दर्भमा तमानखोला गाउँपालिकामा काम गर्दा बोङगादोभानका स्थानीय युवाहरूसँग एक दिन साँझको समयमा थुप्रै साथीहरूसँग खार बजारमा मेला हेर्ने काम भएको छ । जुन स्थानमा थुप्रै बजेट लगानी गरेर राम्रो स्थल बनाउन सकिने स्थल रहेछ । बडिगाडको दर्लिङमा सहकर्मी साथी रेशम बुढा मगरको वैवाहिक कार्यक्रममा सहभागी हुने क्रममा दुई पटकसम्म पुगेको छु । बडिगाड को भिमगिठेको बाटो हुँदै रणसिङकीटेनीको दोभान चौरसम्म गोरेटो बाटो अनुगमन गर्ने क्रममा छोटो यात्रा गरेको छु । बडिगाड हुँदै बुर्तिवाङ यात्राको क्रममा ठुलो पहिरो गएको तुरतुरेको असजिलो भिरको बाटो पैदल यात्रा दुई तिन पटक ज्यानलाई जोखिम मोलेर तरेको छु । तुरतुरेको भिर तर्ने समयमा एक जना मानिसको मृत्यु भएको थियो ।

निसीखोला आफैमा रुकुमको सिमाना जोडिएको गाउँ हो । निसीको भल्कोट गाउँ, पातीहाल्ने डाँडा लगायत लुकुम हुँदै कमल दहसम्म यात्रा गर्ने काम भएको छ । भल्कोट गाउँमा स्थानीय मगरहरू आफनै भाषामा कुराकानी गर्ने हुँदा भाषा नबुझदा केही असजिलो महसुस भएको थियो । साविकको देविस्थानमा रहेको नरसिंङको डाँडा समेत घरेलु तथा साना उद्योग कार्यालय बागलुङका विष्णुनाथ शर्मा, कम्प्युटर अपरेटर हेमा थापा, कार्यालय सहयोगी शकुन्तला लम्साल सहितको टोलीले भ्रमण गर्ने काम भएको थियो । झिवाँखोला बजारमा सामान्य डुलेर हामी निसीखोला गाउँपालिकाको सदरमुकाम भएको जुग्जाखोलाको सेरोफेरो घुमेर बुर्तिवाङ बजारमा बास बस्न आएका थियौ ।

तमानखोला गाउँपालिकामा कामकाज गर्दा बागलुङ जिल्ला भरीको सबैभन्दा बाक्लो गाउँ तमानमा पटक–पटक कार्यालयको काम र घुम्ने सिलसिलामा जाने काम भएको थियो । सोले डाँडामा हिउँसँग खेल्दै रमाइलो गर्दै स्थानीय जनप्रतिनिधि तथा साथीहरूसँग रमाइलो गरेको अहिले खुब मिठो सम्झना आउँछ । बराह तालमा जाने बेला बाटो बिराएर घना जंगलमा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम र म हराएका थियौ । बल्ल बल्ल बाटो पहिचान गरी बराहताल हेरेर फर्कने समयमा अलिकति झिसमिसे अध्यारो भएको बखतमा म मोटरसाइकल दुर्घटनामा परि भिरमा खसेर अल्झिएको थिए । साँझको बेलामा जसोतसो गरेर भिरबाट मोटरबाटोमा उक्लेर मोटरसाइकल चलाउँदा मैले लगाएको ज्याकेट पुरा च्यातिएको थियो । भोलिपल्ट म र वडा सचिव रेशम बुढा मगर घटनास्थलमा पुग्दा याम सरले पुनर्जन्म पाएको हो भनेर टिका टिप्पणी गर्नु भएको थियो ।

भकुण्डे अर्वाउदीमा भाइखलक खिम बहादुर थापा मगरको माइलो छोरा विश्व थापा मगरले खुँगा गाउँ विकास समितिको मेरा अनन्य मित्र नरजंग थापाको बहिनी… लाई विवाह गरेकोले चिनाजान गर्नको लागि जानुपर्ने भएकोले खुँगा गाउँमा जाने काम भयो । त्यसपछि वडा सचिव रेशम बुढा मगरको विवाहमा जन्ती बनेर सोही गाउँमा दोस्रो पटक जाने योजना बन्यो ।

मेरा कर्मचारी साथी तेज प्रसाद निउरेले छोराको वर्तवन्धमा निमन्त्रणा गरेपछि संसारकोट नजिकको गैरागाउँमा जाने काम भयो । संसारकोट, माझकोट, रायकोट हुँदै पञ्चकोट घुम्ने योजना बाकी रहेको छ । जाँदा जिपमा र फर्कँदा पैदल यात्रा गरेर भूगोलको दृश्य अवलोकन गर्दै गैरा गाउँ पुगेर फर्कँदा भएको थियो । सिगाना सुन्तला खेतीको लागि प्रसिद्ध स्थान हो । सिगानामा म क्याम्पस पढ्ने समय वि.स. २०५४ सालमा भारतीय सेवाबाट सेवा निवृत प्रविण थापा साथीको विवाह समारोहमा जन्ती भई पहिलो पटक जाने काम भएको थियो । गलकोट दरबार हेर्ने बहुत धोको थियो । गलकोट महोत्सव भएको सन्दर्भमा हरिचौर बजारमा नै बस्ने गरी कमल प्रसाद गौतम, किस्मत सुनार, रेशम बुढा मगर, शिव प्रसाद रिजाल सहितको टोलीले ताराखोलामा पर्ने गाईघाट झरना, गलकोट दरबार हेर्ने काम भयो । हरिचौरको बाटो घुम्टेको लेकमा पुग्ने साथीहरू उकालो यात्रा गरेर पुगे । दरमखोलाको असला माछाको स्वाद लिँदै मिठो खाना खाएर हरि चौर,हटिया बजारको यात्रा गरेका थियौ ।

तमानखोला गाउँपालिकामा सँगै काम गरेका खिम बहादुर विश्वकर्माको बिदाइ पश्चात् म र शिव प्रसाद रिजाल सहित गलकोट हरिचौर, गाईघाट झरना, घुस्मेली बजार, भातखाने डाँडा, ताराखोला गाउँपालिकाको प्रशासकीय भवन, हुँदै हामी धम्जाको फलामखानी गाउँ बस्दै हुँदै तग्राम गाउँ हुँदै बागलुङ बजार आउने यात्रा मिलेको थियो ।चुनावमा नेपाल तारा माध्यमिक विद्यालय तारामा कर्मचारी भई खटिदा ताराखोलाको ढुंगाखानी समेत अवलोकन गर्ने काम गरेको थिए । म भकुण्डे गाउँमा एक्लै आउने हिसाबले मोटरसाइकल हाँकेर आएको थिए । फेसबुक मार्फत हरिचौरको टेउवाडाँडामा अन्तर्राष्ट्रिय मूर्तिकला सम्मेलन २०७६ चलेको छ । विभिन्न स्थानका विद्यार्थी, शिक्षक, अभिभावकहरुले सम्मेलनको अवलोकन गरेको जानकारी थियो । ठिक सम्मेलन सञ्चालन भएको बखतमा सोध्दै गलकोट दरबारबाट सिधै उकालो कच्ची उकालो बाटो लाग्दै गर्दा बाटैमा टेवा डाँडामा मूर्तिकारहरूले ठुला ठुला ढुंगामा मूर्ति बनाइ रहेको देखे । हेर्ने मानिसहरूको भिडभाड बाक्लो थियो । क्रियाशील पत्रकार दिल शिरीष, आर.के. अदिप्त गिरी लगायत स्थानीय पूर्वसांसद पूर्ण बहादुर रानाहरुसँग हल्का औपचारिक चिनजान र कुराकानी पछि डाँडा भरिका मूर्तिहरूको बारेमा जानकारी लिने काम भयो ।

बासखोला गाउँ हुँदै मल्म जाने बाटो र पाण्डवखानी समेत जान सकिने रहेछ । गलकोट नगरपालिका मल्म गाउँका वडा अध्यक्ष राज थापाले जनहित माध्यमिक विद्यालय, मल्ममा पठन संस्कृति, सकारात्मक सोच, उत्प्रेरणा सम्बन्धमा अनुशिक्षण संचालनका बारेमा सरसल्लाह गरेबमोजिम मलममा सहजीकरण कार्यक्रमका लागि गएको थिए । विद्यालयमा अभिभावक, शिक्षक, बुद्धिजीवीको भव्य उपस्थिति थियो । हाल सालै वडा अध्यक्ष राज थापाको आमा तथा ललिता थापाको सासुआमाको मृत्यु भएकोले समवेदना प्रकटका लागि कार्यालयका परिवार सहित जाने मौका मिल्यो ।

सुखौरा गाउँ, हटिया बजारबाट जिप सम्पर्क गरेर जानुपर्ने भएकोले वडा अध्यक्ष अम्मर बहादुर सेर पुर्जालाई सम्पर्क गर्दै पार्क निर्माणका लागि छुटिएको बजेटबाट के कति काम भएको हो भनेर अनुगमनका लागि विष्णु नाथ शर्मा र म गई आएका थियौ । खाना खाएर बसेको घरमा हामी सुते पछि रात भरी झ्याउरे गीत, सालैजो गीत गएका थिए । तर हामीलाई निमन्त्रणा नभएकोले रमाइलो माहोलमा सहभागी हुन सकेनौ । यात्रा रहरले भन्दा पनि कहिलेकाहीँ कहरले समेत भएको छ । कार्यालयको कामको सिलसिलामा पर्यटन र रमणीय स्थलहरू जोडने हो भने एक काम दुई पन्थ हुन्छ । गलकोटको ऐतिहासिक कोट घर समेत स्थानीय शिक्षक गुन्ज बहादुर खत्रीको समन्वयमा पदमार्ग बनाएको सिलसिलामा भएको थियो । यात्राहरू नयाँ र नौलो स्थानमा हुनु आफैमा शिक्षा र ज्ञान हासिल गर्नु रहेको हुन्छ । मैले मन मिल्ने साथीसँग महिनामा एक पटकको शुक्रबार, शनिवार र आइतबारको दिनमा स्थानीय पर्यटकीय स्थलहरूको भ्रमण गरेर मनोरञ्जन लियौ भन्ने प्रस्ताव साथीहरू बिचमा गरेको छु । आशा छ थप नयाँ र नौला स्थानीय स्थलहरूको अवलोकन गर्ने मौका प्राप्त भई सुखी र समृद्धि हासिल भई सकारात्मक सोचको विकास र अभिवृद्धि हुनमा टेवा पुग्ने विश्वास लिन सकिन्छ ।

(२५ सेप्टेम्बरमा मेलमा प्राप्त)