अल्झियो एमाले एकता घोषणा

काठमाडाैं, २५ असार । एमालेको कार्यदलका सदस्यहरूबीच बिहीबार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो ।

त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे पनि । बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति भएको थियो । सहमतिको खाका तयार भयो । कार्यदलका सबै सदस्य पनि सहमत भए । दुवै पक्षका नेताले बिहीबार निष्कर्षमा पुग्ने दाबी गरेका थिए । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालमार्फत एकताको घोषणा गराउने भनिरहेका थिए ।

नेपाल पक्षका नेता एकता निष्कर्षमा पुग्ने विषयमा अझ उत्साहित भएका थिए । नेता गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे एकता निश्कर्षमा पुगेको भन्दै अभिव्यक्ति दिइरहेका थिए । कार्यदल संयोजक भीम रावल पनि छिट्टै टुंगोमा पुग्नेमा विश्वस्त थिए । संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङ बिहीबारै निष्कर्ष पुग्ने जोडबल भइरहेको बताइरहेका थिए । कार्यदलकै प्रयासमा बुधबार बेलुका अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गराइएको थियो ।

कार्यदलले चार दिनदेखि दिनहुँ बैठक बसेर एकताको प्रयास गरिरहेको थियो । तर, बिहीबार बेलुका एकता घोषणा हुने भन्ने विषय एकाएक स्थगन भएको छ । शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि एकताको घोषणा हुन नसकेको स्रोतले बतायो । भेटवार्तामा नेपालले ओलीसमक्ष आगामी दिनमा हुने हरेक निर्णय दुई नेताबीचको सहमतिमा हुनुपर्ने, पार्टीमा महत्वपूर्ण जिम्मेवारी आफूलाई दिनुपर्नेलगायत विषयमा ठोस सहमति हुनुपर्ने प्रस्ताव गरेको बताइएको छ । कार्यदल तहमा सबै तहका पार्टी र जनसंगठनका कमिटीहरू सम्पूर्ण हिसाबले पूर्ववत् अवस्था (०७५ जेठ २)मा फर्काएर क्रियाशील रहने भन्ने विषयमा सहमति भइसकेको छ। एमाले र माओवादी केन्द्रबीच एकताका समयमा थपिएका ३८ जना र माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जना व्यवस्थापनका विषयमा भाषा मिलाउनेबाहेक सहमति भइसकेको छ ।

संस्थापन पक्षका कार्यदल संयोजक नेम्बाङले आफूलाई शक्ति बाँडफाँटको विषय थाहा नभएको बताए । ‘कार्यदलमा त्यो विषय नै आएको छैन, यो अनावश्यक हल्ला मात्रै हो’, उनले भने ।

बैठकपछि कार्यदल सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले १० दिन यता खासै प्रगति नभएको बताइदिएर एकता आशामा रहेका कार्यकर्तालाई निराश बनाइदिएका छन् । भुसालले भने, ‘पहिला जे थियो त्यही नै छ ।’ उनले अघि भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डाहरू तय गरेका थियौं । गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’

नेम्बाङले भने तीन वर्षदेखिको विवादलाई ९/१० दिनमा यो अवस्थामा ल्याइपुर्‍याउनु पनि ठूलो कुरा भएको बताए । भने, ‘शुक्रबार टुंगोमा पुग्नेमा आशावादी छौं ।’ भुसालको १० दिनदेखि जहाँको त्यही रहेको भनी दिएको प्रतिक्रियाका सम्बन्धमा नेम्वाङले त्यो पनि सही भएको बताए । ‘निश्कर्षमा नपुग्दासम्म स्थिति यस्तै छ, उनले भने । उनले प्रगति हुन नसके पनि शुक्रबार बिहान साढे ११ बजेपछि बस्ने बैठकले सकारात्मक निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन् । संस्थापन पक्षका नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन् भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाल छन् ।
अन्नपूर्ण पोष्टबाट साभार

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here