
कमल पौडेल
खर्वाङ, २२ असार । बडिगाड गाउँपालिकाको वडा नम्बर २ स्थित खर्वाङ बजार क्षेत्रमा कोरोना संक्रमण अत्याधिक देखिएपछि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । यसै विच प्रहरी चौकी खर्वाङले सोमबार मास्क नलाई हिँड्ने १३ जनालाई कार्वाहि गरेको छ ।
प्रहरीले मास्क नलगाइ हिडडुल गर्ने १३ जनालाई जिल्ला प्रशासन कार्यालय बागलुङको रसिदमा प्रति व्यक्ति एक सय रुपैयाका दरले जरिवाना गरेको हो । स्वास्थ्य मापदण्ड पालना नगर्ने जोकोहिलाई कार्वाहि हुने र पुनः गल्ती दोहोराउनेलाई थप कार्वाहि हुने प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक अनुप केसिले जानकारी दिनुभयो ।
यसअघि आइतवार बडिगाड गाउँपालिका–२ को कार्यालयले सरोकारवाला सहितको बैठकबाट वडा नम्बर २ को बजार क्षेत्रलाई असार २७ गतेसम्म सिल गर्ने निर्णय गरेको थियो । त्यस्तै बडिगाड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य मापदण्ड पालना गराउन ध्यानाकर्षण गराएको थियो ।
असार १७ गते पिसिआरको लागि लिइएको स्वाव परिक्षणबाट ४६ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा नम्बर २ लाई सिल गरिएको हो ।










