बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

बागलुङ, २१ असार । ढोरपाटन नगरपालिकाकी एक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरी सोमबार बच्चा जन्माइएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङकी २३ बर्षिया गर्भवती महिलाको बुर्तिबाङ प्रथामिक केन्द्र बुर्तिबाङमा सफल शल्यक्रिया गरि बच्चा जन्माइएको अस्पतालका जटिल प्रसुतिको अप्रेसन सेवामा आवद्ध सिइओएनसि सर्जन डाक्टर अनिल केसीले जानकारी दिनुभयो ।

आईतबार केन्द्रमा उपचारको लागि आइएकी महिलालाई कोरोनाको लक्षण देखिएपछि सोमबार परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । गर्भवतीको ९ दिन मिति काटिसकेको, २४ घण्टा बढी व्यथा लागेको र बच्चाको धड्कन कम हुँदै जान थालेपछि अप्रेसन गरि बच्चा जन्माइएको डा. केसीले बताउनुभयो । ‘समय कटेकोले आईतबार अस्पताल आउनुभएको थियो,’ डा. केसीले भन्नुभयो–‘पहिलो बच्चा भएकोले औषधि चलाएर नर्मल बच्चा जन्माउनको लागि हामीले कोसिस गरेका थियौं तर बच्चाको धड्कन कम हुँदै गएको कारण अप्रेसन गरि बच्चा निकालिएको हो ।’ उहाँले आमालाई कोरोनाको लक्षण खोकी र रुघा लागेकोले परिक्षण गरेर मात्र अप्रेसन गर्ने निर्णय भएपछि आज (सोमबार) परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताउनुभयो

राति ७ बजेर ३० मिनेटमा महिलाको अप्रेशन गरी ३ किलोको बच्चा जन्माइएको डाक्टर केसीले बताउनुभयो । केन्द्रमा कोभिड पोजेटिभ गर्भवती महिलाको पहिलो पटक अप्रेसन गरि बच्चा जन्माइएको हो । ‘लामो व्यथा लागेको र बच्चाको धड्कन पनि घट्दै जोखिम थियो,’ डा. केसीले भन्नुभयो–‘काम चुनौतीपूर्ण थियो, तर सफल भयौ, टीमको प्रयासले हामी सफल भयौ ।’ बच्चाको पिसिआर परिक्षण मंगलबार गरिने भएको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका टिल प्रसुतिको अप्रेसन सेवामा आवद्ध सिइओएनसि सर्जन डाक्टर अनिल केसी, एनेस्थेसिया केशव थापा, नर्सिङ कर्मचारीहरु शान्ति पौडेल, पार्वती अर्याल र बुनिषा घर्तिको टोलीले सफल अप्रेसन गरेका हुन् ।

बागलुङ जिल्लाको धौलागिरी अस्पतालमा पहिले पनि कोरोना संक्रमित गर्भावती महिलाको शल्यक्रिया गरि बच्चा जन्माइएपनि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरि बच्चा जन्माइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरले बताउनुभयो । उहाँले कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरि बच्चा जन्माउन चुनौती पूर्ण हुने भएपनि डाक्टरहरुको मेहेनतले सफल भएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here