
बागलुङ, १९ असार । गलकोट नगरपालिका–३ घाइरन घर भई रोजगारीका सिलसिलामा हाल जापानमा रहनुभएका पमबहादुर खत्रीले आफ्ना दिवङ्गत आमा–बुवाको स्मृतिमा कोरोना प्रभावितका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
दिवङ्गत आमा धनिकला, बुवा कर्णबहादुर र माइलाबुवा रत्नबहादुर खत्रीको स्मृतिमा टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत वितरण गर्ने गरी रु. ७० हजार सहयोग प्रदान गरेको खत्रीले जानकारी दिनुभयो ।
यस्तै उहाँले इन्द्रेणी कार्यक्रम व्यवस्थापनका लागि रु. २० हजार, सामाजिक अभियन्ता रमेश प्रसाइँलाई रु. पाँच हजार र नन्दा सिँहको बाल गृहका लागि रु. पाँच हजार सहयोग गर्नुभएको छ ।

“कोरोनाबाट प्रभावितको उपचारमा थोरै भएपनि राहत पुगोस् भनेर आर्थिक सहयोग गरेको हुँ”, खत्रीले भन्नुभयो । उहाँले कोरोना महामारीका कारण देश आक्रान्त हुँदा आफ्नो मन पनि बेखुस बनेको बताउनुभयो ।
वर्षौँदखि जापानलाई कर्मथलो बनाउँदै आउनुभएका खत्री पहिले देखि नै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । गलकोट समाज जापानका सल्लाहकार उहाँले विसं २०७२ को गोरखा भूकम्पका बेला पनि प्रभावित परिवारलाई राहत विरतण गर्नुभएको थियो । खत्रीले आमाबुवाको स्मृतिमा गलकोटमा ‘परम पूज्य आश्रम’समेत निर्माण गर्नुभएको छ ।










