टिका बहादुर कार्की

बालश्रमको वर्तमान अवस्था :
सामान्यतया हामीले कलकारखाना, सार्वजनिक सवारी, होटल रेष्टुरेन्ट लगायतमा सहयोगी काम गर्ने कम उमेरका व्यक्तिलाई बाल मजदुर भनेर बुझिरहेका छौं । तर, समाजका हरेक काममा अबिभावकसंगै र एक्लै मजदुरी गर्न विवस बालबालिका तर्फ ध्यान गएको हँुदैन, जबकी ती अबोध बालबालिकाले अध्ययन, स्वास्थ, लालन पालन लगायतका सुबिधा र अधिकारको उपयोग गर्न पाउनुपर्ने आफ्नो कलिलो उमेरमा जोखिमपुर्ण परिश्रम गर्दै आफ्नो पेट पाल्ने तथा असहाय अबिभावकलाई सहायता समेत गरिराखेका हुन्छन् त कोही लागु औषध दुव्र्यसनको कुलतमा फसिसकेका हुन्छन् । सरोकारवाला निकाय, एनजिओ, आईएन्जिओ पुराना रेकर्ड अपडेट गर्दै बसिराखेको अबस्था छ । बालबालिकालाई कुनै पनि बहानामा जोखिमपुर्ण काममा लगाउन हुँदैन भन्ने ख्याल गरिएको पनि पाईदैन ।

बालश्रम सम्बन्धी कानुनी व्यवस्था :
नेपालको बालबालिका सम्बन्धी ऐन २०७५ को दफा २ (ञ) मा १८ बर्ष उमेर पुरा नगरेको व्यक्तिलाई बालबालिका मानिएको छ । त्यस्तै बालश्रम (निषेध र नियन्त्रित गर्ने) ऐन २०५६ (२०७५।११।१९ मा संशोधन)को परिच्छेद २– दफा ३ (१) मा “कसैले पनि १४ बर्ष उमेर पुरा नगरेका बालकलाई श्रमिकको रुपमा काममा लगाउनु हुदैन” भनिएको छभने बालबालिकालाई जोखिमपुर्ण काम वा व्यवसायमा लगाउनु हुँदैन भनेर उपदफा (२) मा उल्लेख गरिएको छ । उपदफा ३ मा बालबालिकालाई ईच्छा बिपरित काममा लगाउन नपाईने व्यवस्था गरिएको छ ।

त्यसै गरी संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धी महासन्धी १९८९ ले बालबालिकाहरु आर्थिक शोषण र हानिकारक काम, सबै प्रकारका यौन शोषण तथा दुव्र्यवहार एवं शारीरिक तथा मानसिक हिंसाबाट सुरक्षित हुन पाउने अधिकारका साथै उनीहरुको ईच्छा बिपरित आफ्नो परिवारबाट अलग गरिने छैनन् भन्ने आधारभुत अधिकारको स्पष्ट व्याख्या गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन, (आइ.एल.ओ.) महासन्धी १९७३ ले रोजगारीमा संलग्न हुने न्यनतम उमेर १५ बर्ष (बिकासोन्मुख देशमा १४ बर्ष) तोकेको छ । परिस्थिति अनुसार १५ देखि १८ बर्ष उमेरका बालबालिकालाई शारीरिक तथा मानसिक समस्या नपर्ने खालका सामान्य काममा लगाएर उनीहरुको शिक्षा, खानपान तथा स्वास्थ उपचार लगायतका सुबिधाको व्यवस्था सहित निश्चित मापदण्डका आधारमा मात्र काममा लगाउने सकिने व्यवस्था छ । बालबालिका सम्बन्धी आइ.एल.ओ. महासन्धी १९९९ ले बालबालिकालाई सबै प्रकारका दायित्व वा सो सरहको व्यवसाय जस्तै (बालबालिका बेचबिखन, श्रम बधुवा, बलजफ्तीपुर्ण वा अनिवार्य रुपले बाध्यतामा गराईने श्रम वा बेश्याबृत्तीमा प्रयोग गर्न पाईदैन ।

कसरी बालश्रम मुक्त समाज बनाउन सकिन्छ ?
बिकसित देशहरुमा जसरी सम्पुर्ण सुबिधायुक्त बनाउन नसके पनि सडक मानब मुक्त अभियानलाई सफल पार्न हाम्रा भावी सन्ततिका रुपमा जन्मिएका सडक बालबालिका, जोखिमपुर्ण काममा संलग्न बालबालिका, बिना अनुमति कुनै पनि काम र अबिभावक तथा संरक्षककै वेवास्ताका कारण लागु औषध दुव्र्यसन जस्तो कुलतमा लागेका बालबालिकालाई समयमै पहिचान तथा उद्दार गरी सरकारी तथा गैरसरकारी निकायको निगरानी तथा संरक्षणमा राखेर उचित शिक्षा, पालनपोषण, बृत्तीबिकासका साथै रोजगारीको वातावरण सृजना गर्नुपर्ने देखिन्छ । सरोकारवाला निकायलाई यस कार्यमा संलग्न गराउन हरेक नागरिक सचेत र सक्रिय हुन आवश्यक छ । जसरी समाज चेतनशील तथा सक्रिय हँुदै जान्छ– सरोकारवाला निकाय र ति निकायमा संलग्न कर्मचारी तथा पदाधिकारीले बालबालिकालाई श्रमबाट मुक्त राख्न बाध्यात्मक रुपमा काम गर्नुपर्ने अबस्था सृजना हुन्छ ।

अन्तमा बिश्व बालश्रम बिरुद्धको दिवसको सफलताको शुभकामना । ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here