
बागलुङ, २८ जेठ । बागलुङ घर भएका फुटबलर कमल थापाले राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् ।
विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा आज अष्ट्रेलियासँगको खेलमा ९० औं मिनेटमा मैदान प्रवेश गर्दै कमलले राष्ट्रिय सिनियर टोलीबाट डेब्यू गरेका हुन् । थापाले मिडफिल्डर विशाल राईलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका थापा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए ।
को हुन फुटबलर थापा
थापा बागलुङबाट राष्ट्रिय फुटबल टिममा स्थान बनाउने पहिलो खेलाडी हुन् । उमेर समुहमा थापा सहित अन्य खेलाडीहरुले देशको प्रतिनिधित्व गरिसकेपनि राष्ट्रिय टिमको बन्द प्रशिक्षण र टिममा पर्न भने कोहि सकेका थिएनन् ।
विमल घर्ती मगर, अनन्त तामाङ अन्जन विष्ट लगायत खेलाडीको ब्याचका उनी काठमाडौंको एन्फा एकेडेमीका उत्पादन हुन् । उमेर समुह अन्तरगत अन्डर–१३ मा इरानमा खेल्न गएका थापा अन्डर–१६ मा कोरियामा कोरियासँगको मैत्रीपूर्ण खेलमा स्थान बनाएका थिए ।
घरेलु फुटबलमा हिमालयन शेर्पाबाट खेल्दै आएका थापा मिडफिल्डमा निकै छरिता र कठिन अवस्थामा पनि उच्च कोटीको पास निकाल्न सक्ने क्षमता छ । थापाले ए डिभिजन लिगमा हिमालय शेर्पाबाट खेल्दै डुब्यु गरेका थिए । उनी जिल्लाबाट ए डिभिजन लिग खेल्ने दोस्रो खेलाडी हुन् । थापाले भन्दा पहिले ए डिभिजन लिगमा फ्रेन्डस क्लबबाट आशिष केसीले डेब्यु गरेका थिए ।
जिल्ला फुटबल संघ बागलुङको बागलुङ–११ टिमका कप्तान समेत रहेका थापा हालै काठमाडौंमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगि खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सबाट खेलेका थिए । एनएसएलमा उनलाई पोखरा थन्डर्सले भिषण गुरुङको स्थानमा ल्याएको थियो । भिषणलाई लिगअघि नै कोरोना संक्रमण भएपछि उनी अन्तिम तीन खेलमा उपलब्ध थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेपनि उनको खेल्ने शैलीबाट प्रशिक्षक प्रभावित भएर बन्द प्रशिक्षणमा परेका थिए ।










