
काठमाडौं, ३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबुल गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमति बनेको छ ।
उच्च स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमपछि पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्ये चार दल एमसीसीलाई संसद्बाटै टुंगोमा पु¥याउन सहमत भएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एमसीसी परियोजनासम्बन्धी प्रस्ताव संसद्मा टेबुल गर्न सहमत भएका हुन् । तर, गठबन्धनभित्रको एकघटक राष्ट्रिय जनमोर्चाले भने एमसीसीका विषयमा आफ्नो असहमति कायम राखेको छ ।
‘एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्ता गठबन्धनमा सहमति बनिसकेको छ, अब संसद्मा एमसीसी टेबुल हुन्छ, बाँकी प्रक्रियामा दलहरूले आआफ्नै ढंगबाट निर्णय लिन सक्छन,’ स्रोतले भन्यो ।
नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले बुधबार संसद् बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमसीसी’ बारे छलफल हुने जानकारी दिए ।
उनले सोमबार सभामुखले डाकेको सर्वदलीय बैठकबाट बाहिरिँदै गर्दा एमसीसी संसद्बाट अघि बढाउने विषयमा सहमति भएको बताएका हुन् ।
‘सर्वदलीय बैठकको मुख्य विषय त संसद् सुचारु गर्ने नै हो तर बैठकमा एमसीसी’ बारे पनि कुरा उठे, सहमति बनाएर संसद्मा लैजाने भन्ने विषयमा नेताहरू तयार हुनुहुन्छ,’ बैठकबाट बाहिरिँदै गर्दा श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफ्नो दल जनमोर्चाबाहेकका सत्ता गठबन्धनमा आबद्ध अन्य चार दल एमसीसीलाई संसद्बाटै निर्णयमा पु¥याउन तयार भएको जानकारी दिइन् ।
‘हाम्रो असहमति कायमै छ, गठबन्धनका अन्य दलहरू एमसीसीलाई संसद्मा टेबुल गर्ने विषयमा सहमत हुनुभएको छ,’ जनमोर्चाकी उपाध्यक्ष पौडेलले राजधानीसँग भनिन् ।
माओवादी केन्द्र र नेकपा एस भने एमसीसी संसद्मा टेबुल गर्न दिने तर बाँकी प्रक्रियामा के गर्ने भन्ने विषयमा दलभित्र सहमति गरेर निर्णयमा पुग्ने योजनामा छन् ।
गत शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमसीसी परियोजना अघि बढाउने आफ्नो तयारी रहेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए । आजको राजधानी दैनिकबाट साभार ।