जहाँ भारतीय छिमेकीको भरमा बाँच्छन् नेपाली

काठमाडौं, २८ जेठ । कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ । मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ । त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन् । नेपालमा लकडाउन, नाकाबन्दी हुँदा तिनै छिमेकीले रासन दिएर बचाउँछन् । अनि ती छिमेकीसँग उनी किन बाँझ्छन् र ?

निषेधाज्ञामा पसल खुल्दैनन् । यस्तोे अवस्थामा भारतका छिमेकीले लुकिछिपी रासन ल्याएर नेपालीलाई नबेच्ने हो भने उनीहरूको छाक कसरी टथ्र्यो र ? मियाँले गत सालको कोरोनाको लहर सम्झिए । नेपालमा गत वर्ष कोरोना महामारीका कारण गरिबले खान नपाएको उनले पनि सुने । तर, सरकारले सीमा क्षेत्रका बासिन्दालाई खाद्यान्न छ–छैन भनेर सोधखोज गरेन ।

सीमामा जोडिएरै बसेका ३४ घरका नेपाली आर्थिक रूपले सम्पन्न छैनन् । उनीहरूसँग जग्गाजमिन थोरै छ । भरपर्दो जागिर कमैको मात्र छ । तर, आफ्नै सरकारले वास्तै नगरेको गुनासो उनीहरूको छ। भारतीय छिमेकीकै कारण उनीहरूलाई खाद्यान्न अभाव कहिल्यै पनि भएन ।

मर्दाको मलामी र जिउँदाको जन्ती भएर बसेका सीमा क्षेत्रका दुवै देशका बासिन्दाबीच प्रगाढ सम्बन्ध छ । पश्चिममा झैं चरम सीमा विवाद पूर्वमा नपरे पनि भावनात्मक असर भने बेलाबखत पर्ने गरेको स्थानीय सुनाउँछन् । झापाको पूर्वी सीमा क्षेत्र इलामबाट गौरीगन्जसम्मका नेपाली अधिकांश भारतीय बजारमा निर्भर छन् । उनीहरूलाई हरेक कुरा नेपालभन्दा भारतसँग सरोकार हुन्छ। छोरीचेलीको बिहेवारी चल्छ । तरकारी ऐचोपैंचो चल्छ ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here