बागलुङका स्थानीय तहको आईसोलेसनमा चिकित्सकको अभाव

बागलुङ, १३ जेठ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाए पनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहुदा संक्रमितको उपचारमा समस्या भएको छ ।

संक्रमितहरुको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेसन संचालन गरे पनि चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भिर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा लैजानुपर्ने बाध्यता सृजना भएको हो ।

जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्रथामिक विद्यालयको खाली भएको भवनमा १० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ । आइसोलेसन कक्ष तयार भए पनि मेडिकल अधिकृत नहुँदा गम्भिर विरामीलाई धौलागरी अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो ।

‘गाउँपालिकामा १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भन्नुभयो–‘चिकित्सको लागि विज्ञापन गर्दा पनि कसैले आवेदन परेन, समस्या ग्रस्त बिरामीहरुलाई उपचार गर्न समस्या भएको छ ।’

गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकामको नजिकको पालिका भएकोले बागलुङ नगरपालिकासँग समन्वय गरि १० जना भन्दा धेरै विरामी भएमा नगरपालिकामा पठाइने गरेको बताउनुभयो । ‘बेड मात्र थप गरेर हुँदैन, अध्यक्ष थापाले भन्नुभयो–‘विरामीलाई समस्या देखा परेमा तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरी अस्पतालका चिकित्सकसँग आवश्यक समन्वय गरेर बिरामी राख्ने गरेको अध्यक्ष थापाको भनाई छ ।
काठेखालामा जस्तै बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि मेडिकल अधिकृतको समस्या झेल्नु परेको छ । पालिकामा विशेषज्ञ डाक्टरहरु नहुँदा गम्भिर विरामीहरुलाई धौलागिरी अस्पतालमै पठाउनुपर्ने समस्या रहेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

चिकित्सकको अभाव हुँदा विरामीलाई गाह्रो हुँदा र अक्सिजन लेभल घट्दै जाँदा उपचारमा समस्या हुने र औषधिहरु दिनको लागि पनि गाह्रो हुने बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरी अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेको समेत बताउनुभयो । ‘हामीले अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेका छौं,’ उहाँले भन्नुभयो–‘नगरस्वास्थ्य शाखाका सवै टोली र नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मी, विद्यालय नर्सहरुलाई पनि आइसोलेसनमा खटाइएको छ ।

बागलुङ नगरपालिकाले संचालन गरेको आइसोलेसनमा अस्पतालमा बेड अभावमा भएमा कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका विरामीहरुलाई राख्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख खनालले बताउनुभयो । उहाँले नगरपालिकाको आइसोलेसनमा अहिले म्याग्दी, गुल्मी जिल्लाका विरामीहरु पनि उपचाररत रहेको बताउनुभयो ।

धौलागिरी अस्पतालमा समेत लामो समय काम गर्नुभएका खनालले स्थानिय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानको लागि समेत समस्या हुने र उपचारमा गाह्रो हुने गरेको बताउनुभयो । ‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानिय तहहरुमा कोभिडका विरामीहरुको उपचारको लागि समस्या हुँन्छ,’ उहाँले भन्नुभयो–‘विरामीहरुको फोक्सोको अवस्था के छ र अब कुन औषधि दिने भन्नेमा चिकित्सकहरुसँग सल्लाह लिएर मात्रै काम गर्नुपर्ने अवस्थामा स्थानिय तहहरु रहेका छन् ।’

बागलुङ जिल्लाको जैमिनी नगरपालिका १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेसन निर्माण गरेको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरुले जनाएका छन् ।

पालिकामा विशेषज्ञ डाक्टर भएपनि अक्सिजनको प्राप्त सुविधा नभएकोले हाइफ्लो अक्सिजन दिनुपर्ने विरामीहरुलाई अस्पतालमै पठाउनुपर्ने समस्या रहेको छ । यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भएपनि अन्य पालिकामा एक्स–रेको सुविधा नभएकोले उनीहरुले पनि कोरोनाको विरामीलाई समस्या भएमा धौलागिरी अस्पतालमै पठाउनुपर्ने अवस्था रहेको छ ।

बागलुङ जिल्लामा काठेखोला गाउँपालिकामा १० बेड, बागलुङ नगरपालिकामा ३५ बेड, गल्कोट नगरपालिकामा ११ बेड, ढोरपाटन नगरपालिकामा १० बेड, जैमिनी नगरपालिकामा १० बेड, बरेङ गाउँपालिकामा ५ बेड, निसीखोला गाउँपालिकामा १५ बेड, तमानखोला गाउँपालिकामा १० बेड, बडिगाड गाउँपालिकामा १० बेड र ताराखोला गाउँपालिकामा १५ बेडको आइसोलेसन कक्ष रहेका छन्  । यस्तै १० पालिकामा १ सय २७ वटा मात्रै अक्सिजन सिलिन्डर रहेका छन् । काठेखोला गाउँपालिकामा ३ वटा, बागलुङ नगरपालिकामा २५ वटा, गल्कोट नगरपालिकामा १४ वटा, ढोरपाटन नगरपालिकामा २१ वटा, जैमिनी नगरपालिकामा ६ वटा, बरेङ गाउँपालिकामा ८ वटा, निसीखोला गाउँपालिकामा ६ वटा, तमानखोला गाउँपालिकामा ८ वटा, बडिगाड गाउँपालिकामा २७ वटा र ताराखोला गाउँपालिकामा ९ वटा अक्सिजन सिलिन्डर रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here