अर्जुन कार्की
बागलुङ, ९ चैत । कोरोनाको कारण करिब एक बर्ष जति ठप्प बनेको जिल्लाको खेलकुद क्षेत्र चलायमान बन्दै गएको छ । यहाँ पछिल्लो समय फुटबल, भलिबल र क्रिकेट प्रतियोगिताहरु संचालन हुन थालेका हुन ।

मेला, महोत्सव र चाडपर्वमा बढी लोकप्रिय भलिबल खेल आयोजना हुँदै आए पनि पछिल्लो समय फुटबल खेलका साना प्रतियोगीता लोकप्रिय बन्न थालेका छन । अखिल नेपाल फुटबल संघको बार्षिक क्यालेन्डर अन्तरगतका खेल र वर्षमा १/२ वटा छिटफुट केहि प्रतियोगिताहरु संचालन हुँदै आएको बागलुङमा पछिल्लो समय शहर बजार र ग्रामिण भेगहरुमा समेत सेभेन ए साइड फुटबल प्रतियोगिताहरु संचालन हुन थालेका हुन ।

 

फुटबलमा सामान्यता ११ जनाले खेल्ने खेल भनिए पनि खेल मैदान साना भएका क्षेत्रमा फाइभ ए साइड र सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुन थालेका छन । बागलुङमा ११ जना खेल्न मिल्ने एक मात्र बाङ्गेचौर खेलमैदान हो ।

गत मंसिरमा बाङ्गेचौर खेल मैदानमा पावर फिटनेश सेन्टरले फाइभ ए साइड फुटबल प्रतियोगिता गर्दै खेलकुदको गतिविधिलाई सुचारु गरेको थियो । त्यसयता बागलुङमा आधा दर्जन बढि सेभेन र फाइभ ए साइड फुटबल प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

मैदानको क्षमता अनुसार स्थानीय तहमा फाइभ र सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन भएकोे जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताउनुभयो । पहाडी जिल्ला भएकोले यहाँ ठूला मैदानको व्यवस्थापन नहुँदा सेभेन र फाइभ ए साइड फुटबल प्रतियोगिता प्रति खेलाडी र आयोजकको लोकप्रियता बढेको उहाँको भनाई छ ।

रामराज गुरुङ
(अध्यक्ष) जिल्ला फुटबल संघ बागलुङ

‘हामीले एन्फाको क्यालेन्डर अनुसार प्रतियोगिताहरु संचालन गरिरहेका छौं,’ अध्यक्ष गुरुङले भन्नुभयो–‘पहिले क्लबहरु कम थिए, त्यसैले क्लबहरुले प्रतियोगिताहरु पनि संचालन गर्दैन थिए अहिले स्थानिय तहमा पनि क्लबहरुले सेभेन र फाइभ ए साइड फुटबल प्रतियोगिताको अयोजना गर्दा खेलाडी उत्पादनमा सहयोग पुगेको छ ।’

अध्यक्ष गुरुङले आयोजकहरुले प्रतियोगिताको लागि समन्वयन गरिदिन आग्रह गरेमा बल लगायत खेल सामाग्रीहरु सहयोग गर्ने र नियमको बारे र रेफ्रिको लागि समन्वय गरिदिने गरेको बताउनुभयो । जिल्ला प्रायोजकहरुको अभाव रहेको अध्यक्ष गुरुङको भनाइ छ । गाउँ गाउँमा फुटबलको लोकप्रियता बढेसँगै बजार मुखी रहेको खेलाडी उत्पादन गाउँ गाउँमा हुने देखिएको छ ।

गाउँ–गाउँमा क्षमता भएका खेलाडी रहेको उहाँको भनाई छ । ‘जिल्लामा एक, दुई खेल हुँदा आर्थिक अभावको कारण खेलमा भविष्य नरहेको भन्दै खेल्नै छोड्ने युवाहरुको संख्या बढि हुन्छ,’ अध्यक्ष गुरुङले भन्नुभयो–‘प्रतियोगिताहरु बढ्दा पुरस्कार र राम्रो खेल्ने खेलाडीहरुलाई क्लबले पनि आर्थिक रकम उपलब्ध गराउने भएकाले खेलाडीको हौसला प्रदान गरेको छ ।’

ठूलो प्रतियोगिताहरु नहुँदा साना प्रतियोगिता खेलेर केहि राहत मिल्ने खेलाडी रोशन लामिछानेले बताउनुभयो । उहाँले वर्षमा २, ३ वटा सम्म लिगका खेलहरु भएमा जिल्लामा फुटबलको विकास हुने र खेलाडीहरु पनि माथिल्लो लेभलमा पुग्न सहयोग पुग्ने बताउनुभयो ।

रोशन लामिछाने
खेलाडी

लामिछानेले पछिल्लो समय गाउँ गाउँमा पनि फुटबलको लोकप्रियता बढेको र प्रतियोगिताहरु आयोजना हुँदा खेलाडीहरुको आर्थिक सुधारमा केहि राहत मिलेको बताउनुभयो । ‘अहिले राम्रो खेल्ने खेलाडीहरु र साथीभाइ मिलेर फाइभ र सेभेन ए साइड फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाउने गरेका छौं,’ लामिछानेले भन्नुभयो–‘उपाधि जितेमा उक्त पुरस्कार राशि बाढ्ने र केहि क्लबले खेलाडीहरुलाई थप तलबको व्यवस्था पनि गर्छन त्यसले गर्दा खाली बस्नुभन्दा केहि राहत मिलेको छ ।’

लामिछानेले जिल्लामा कम प्रतियोगिता हुँदा खेलाडी उत्पादन नहुनुको साथै खेलीरहेका खेलाडीहरु पनि पलायन भइरहेको गुनासो गर्नुभयो । उहाँले घरबाट समेत सधै खेल्न हिड्ने तर खेलेर भविष्य नरहेको भनि रहेपनि आफुहरु रहरले खेलिरहेको बताउनुभयो ।

जिल्लामा कम प्रतियोगिता भएको कारण नै माथिल्लो लेबलमा खेल्ने खेलाडीहरुको कमि रहेको बताउनुभयो । ‘हाम्रो जिल्लाबाट ए डिभिजन लिग र बि डिभिजन लिगमा दुई/दुई जना खेलाडीले मात्र खेलेका छन्,’ लामिछानेले भन्नुभयो–‘अहिले त जिल्लामा ठूला प्रतियोगिता नहुँदा खेलाडी उत्पादन भएको पनि छैन र एन्फा एकेडेमिमा पनि पहिले धेरै खेलाडीहरु हुने गरेपनि अहिले एक, दुई जना मात्र रहेका छन् ।’

लामिछानेले जिल्लामा साना प्रतियोगिता भन्दा ठूलो प्रतियोगिताहरु नै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले साना प्रतियोगिताले गर्दा घाईते बढि हुने र खेल्नै शैली नै छुट्टै हुने भएकाले ठूला प्रतियोगितामा खेल्न गाह्रो हुने बताउनुभयो ।

जिल्ला फुटबल संघका प्रशिक्षक भिम बोहोराले फाइभ ए साइडलाई फुटसलको रुपमा फिफा र एएफसिले मान्यता दिएपनि सेभेन ए साइड फुटबललाई मान्यता नरहेको बताउनुभयो । उहाँले फाइभ ए साइड प्रतियोगिताले फुटसलको लागि खेलाडी उत्पादनमा सहयोग पुग्ने भएपनि सेभेन ए साइड फुटबल रहरको लागि मात्र रहेको बताउनुभयो ।

भिम बोहोरा
प्रशिक्षक

‘जिल्लामा ठूला प्रतियोगिताहरु बढि भएमा मात्र खेलाडी उत्पादनमा सहयोग पुग्ने थियो,’ प्रशिक्षक बोहोराले भन्नुभयो–‘ग्रामिण भेगमा फुटबल प्रतियोगिता हुनु सुखद पक्ष हो तर तिनी प्रतियोगतामा खेल्ने शैली र ठूलो प्रतियोगितामा खेल्ने शैली फरक हुँदा माथिल्लो स्तरको खेलको लागि खेलाडीहरुलाई केहि फाइदा हुँदैन ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here