
बागलुङ, २३ फागुन । महिला हक हित र अधिकारसंगै सामाजिक विकासमा बिगत १८ बर्ष पहिलेदेखि क्रियाशिल ममता आमा समुह काठेखोला–४ तंग्राम, बागलुङले आफ्नै भवन निर्माण गरेको छ ।
समुहले निर्माण गरेको नवनिर्मित भवनको शनिबार काठेखोला गाउँपालिका गाउँकार्यपालिका सदस्य तथा सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक टिका संगम विकले उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन पछि बोल्दै विकले आमा समुह, महिलाहरुको एक सामाजिक संगठन भएको बताउँदै यसले महिला हिंसा, जुवातास, मदिरा सेवन जस्ता सामाजिक विकृति र विसंगति नियन्त्रण गर्नुका साथै समाज सुधार र सभ्य समाज निर्माणका कार्यहरु गर्नुपर्ने बताउनुभयो ।
उहाँले गाउँ–गाउँमा स्थापित आमा समुहहरुले महिलाहरु प्रतिको शोषण, उत्पीडन, दुरब्यवहार, बालबिवाह, दाइजो प्रथा, चेलिबेटी बेचविखन, सम्वन्ध बिच्छेद, अपहेलना र बोक्सीको आरोप जस्ता बिकृतिजन्य कार्यहरुको खुलेर बिरोध तथा प्रतिरोध गर्नुपर्ने र समाजमा हुने बिकृति, बिसंगति र अनैतिक कार्यहरुका बिरुद्ध धावा बोल्दै शान्त, सुन्दर, सभ्य र शालिन समाजको निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । जाँड रक्सी शेवनका कारणले हुने हिंसाजन्य घटनाहरुको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय आमा समुहहरुले प्रभावकारी भुमिका निर्वाह गरेको प्रति खुसी ब्यक्त गर्दै अव महिलाहरुलाई शसक्तिकरणको माध्यमबाट उनिहरुको क्षमता विकास गर्दै समाजको सचेत र अगुवा नागरिक वनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं.४ का वडा सदस्यद्धय नरमाया थापा, टिकाराम पुन, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि खर्क बहादुर पुन, राष्ट्रिय जनमोर्चा तंग्रामका प्रतिनिधि नर बहादुर थापा, समाजसेवि तथा गणतन्त्र प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम बहादुर पुन, धारा माध्यामिक विद्यालयका शिक्षक भिम बहादुर बि.क., ममता आमा समुहका संस्थापक सचिव सम्झना थापा, स्थानीय शिक्षक कर्ण बहादुर पुन र लालमति थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समुहको तर्फबाट अध्यक्ष दिल कुमारी थापाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष सपना थापा पुन र भवन निर्माण सम्बन्धी आयब्यय सहितको प्रतिवेदन भवन निर्माण समितिका अध्यक्ष हिरा बि.क.ले प्रस्तुत गर्नुभएको थियो ।
स्थानीय स्वर्गीय बोम बहादुर पुनका श्रीमति भुमी पुन र वहाँका परिवारले निशुल्क रुपमा उपलब्ध गराईएको जग्गामा निर्माण गरिएको भवन काठेखोला गाउँपालिका र ममता आमा समुहको आफ्नै लगानीमा निर्माण गरिएको हो । ममता आमा समुहको भवन उद्घाटन कार्यक्रम आयोजक समितिका संयोजक बौलेनी पुनको अध्यक्षता र सिर्जना गुरुङको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ममता आमा समुहका अध्यक्ष दिल कुमारी थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जग्गादाता भुमी पुन, निर्माण ब्यवसायी शितल पुन र गोपाल थापा, संस्थापक अध्यक्ष गोरी थापा, पुर्व अध्यक्ष देउरुपा थापा र बौलेनी पुनलाई सम्मान गरिएको थियो । साही कार्यक्रमको अवसरमा सामाजिक योगदानको आधारमा काठेखोला गाउँपालिकाका कार्यपालिकाका सदस्य टिका संगम बि.क.लाई पनि सम्मान गरिएको थियो ।














