
काठमाडाैं, १५ फागुन । धनुषाको गोविन्दपुर–१ का ४५ वर्षीय रुदल मण्डल १० कक्षासम्म पढे । ३० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार गए। त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किए । फेरि मलेसिया गए । फर्किएर काठमाडौंमा एउटा होटलमा काम गर्न थाले । त्यही बेला मण्डलको भेट गाईघाटका वीरेन्द्र साहसँग भयो । साहले आफू एजेन्ट रहेको परिचय दिई भेटघाट बढाए ।
निरन्तर तीन महिना सम्पर्कमा रही साहले मण्डललाई युरोप जान सहमत गराए । त्यहाँ क्लिनरको काममा महिनाको ७ सय डलरसम्म तलब आउने भन्दै फकाए । मण्डलले राम्रो रोजगारीको आसमा आफू र ज्वाइँ सरोज मण्डलका लागि १० धुर घडेरी बेचे । भिसा र टिकट मिलाइदिनुप¥यो भन्दै साहलाई १० लाख रुपैयाँ दिए। तर, रकम पाउनेबित्तिकै साह बेपत्ता भए । उनको खोजीका लागि मण्डलले प्रहरीमा उजुरी दिए । तर, दुई वर्षदेखि न साह भेटिएका छन् न त मण्डलको पैसो फिर्ता पाउने कुनै बाटो फेला परेको छ ।
‘मलाई शंका लागेको थियो मजस्तो कम पढे÷लेखेकालाई युरोप पठाउने कुरामा। तर, तीन महिनासम्म एउटै कुरा भनेर फकायो’, मण्डलले आँसु झार्दै भने, ‘भएभरको पुँजी पनि गयो, अब जीवन कसरी चलाउने ?’
जनकपुर उपमहानगरपालिका–१३ का बद्री राउत ६ वर्षदेखि एजेन्ट दशरथ मण्डलविरुद्ध ठगी मुद्दा लडिरहेका छन् । मण्डलले कतारमा काम दिलाइदिने भन्दै राउतसँग १ लाख रुपैयाँ भिसा र टिकटबापत लगेका थिए । एजेन्ट मण्डल राउतलाई झुक्याएर काठमाडौंमै छाडेर भागेका थिए ।
गरिब परिवारका राउतले एजेन्टलाई दिने रकम साहुबाट सयकडा ३ रुपैयाँ ब्याजमा लिएका थिए । वैदेशिक रोजगारीको चक्करले ठगीमा परेका राउतले ६ वर्षदेखि साहुको ब्याज मजदुरी गरेर चुकाइरहेका छन् । एजेन्टविरुद्ध मुद्दा पनि लडिरहेका छन् ।










