
बागलुङ, १० माघ । बागलुङ नगरपालिकाले आयोजना गर्ने मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष नहुने भएको छ ।
कोरोना महामारीको कारण देखाउँदै बागलुङ नगरपालिकाले यस वर्ष मेयर कप फुटबल गर्न गाह्रो भएको जनाएको छ । नेपाल सरकारले खेलकुद प्रतियोगिता गर्न खुल्ला गरेपनि बागलुङ नगरपालिकाले कोरोनाको कारण नै प्रतियोगिता गर्न नसकिएको बताएको छ ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्रतियोगिता गर्न गाह्रो भएको बताउनुभयो । उहाँले नगरपालिकाले शहिद दिवसको अवसर पारेर आयोजना गर्ने प्रतियोगिताको मिति नजिकिएपनि यस वर्ष गर्न नसकिएको खबरवे अनलाईनलाई जानकारी दिनुभयो । ‘कोरोना महामारीको जोखिम अझै छ,’ मेयर पौडेलले भन्नुभयो–‘हरेक वर्षको शहिद दिवशको दिन प्रतियोगिता आयोजना गर्ने तालिका रहेको थियो त्यसैले यस वर्ष प्रतियोगिता गर्न गाह्रो भयो ।’
नगरप्रमुख पौडेलले प्रतियोगिता नहुनेमा मुख्य कारण कोरोना रहेको र अन्य कुनै समस्या नभएको बताउनुभयो । उहाँले नगरपालिकाले प्रतियोगितालाई गौरवको आयोजनाको रुपमा राखेपनि महामारीको विच जोखिम उठाएर प्रतियोगिता गर्न नसकिएको बताउनुभयो ।
बागलुङ नगरपालिकामा जनप्रतिनिधि आएपछि २०७४ सालमा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर सुरु भएको थियो । नगरपालिकाले २०७५ सालमा आन्तरिक कारण देखाउँदै प्रतियोगिता नगरेपनि २०७६ सालमा खुल्ला नगरपालिका स्तरीय प्रतियोगिता आयोजना गरेको थियो । नगरपालिकाले पहिलो संस्करणमा जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा र दोस्रो संस्करण जिल्ला फुटबल संघ बागलुङको समन्वयमा गरेको थियो ।
२०७४ सालमा स्याङ्गजाको वालिङ नगरपालिका र २०७६ सालमा आयोजक बागलुङ नगरपालिकाले उपाधि जितेका थिए ।
नगरपालिकाले गौरवको योजनामा राखेर मेयर कप फुटबल प्रतियोगिता गर्दै आएको थियो । नगरपालिकाले प्रतियोगिता गर्नको लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा २० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।










