पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बडिगाड–२ राक्सेका पाँच परिवार विस्थापित

नवीन शिशिर विक
बागलुङ, ५ असोज । बागलुङको बडिगाड गाउँपालिका–२ राक्सेमा पहिरो जाँदा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको छ ।

अविरल बर्षाको कारण दगातुनडाडाको जिमीबाट खसेको पहिरोले खर्वाङ्गदेखि न्वारासम्मको सडक खण्ड पूर्णरुपमा अवरुद्ध गरेको हो । उक्त पहिरो पन्छाउन करिब ५ देखि ६ घण्टा समय लाग्ने बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष ढालप्रसाद सेरचनले जानकारी दिनुभयो ।

सोमबार साँझ खसेको पहिरोले स्थानीय दुर्गा अर्याल, जितबहादुर विक, विरबहादुर घर्ती, धनबहादुर थापा र गोविन्द अघिकारीको घरमा क्षति गरेको छ । पहिराले घरको पाली, गारो तथा छानोको भाग भत्काए पछि पाँच परिवार विस्थापित भएका छन् ।

रातको समयमा पानी परेको खण्डमा थप क्षति हुने भए पछि उनीहरु आफन्तको घरमा बसेको वडाध्यक्ष सेरचनले बताउनुभयो । लोकमार्ग अवरुद्ध भए पछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको लागि छुटेका सवारी बिचबाटोबाटै फिर्ता भएका छन् ।

पहिरो मंगलबार विहान गाउँपालिकाको डोजर प्रयोग गरेर पन्छाउने बताइएको छ । सोमबार राती परेको र पहिरो जाने क्रमन नरोकिएको हुँदा यथास्थितीमा छोडिएको छ ।

१ हजार ७ सय ७६ किलो मिटर लामो पुष्पलाल मध्ये पहाडी लोकमार्गको सबै भन्दा बढीं १ सय ३७ किलो मिटर सडक खण्ड बागलुङमा पर्छ । बाटो अवरुद्ध भए पछि ढोरपाटन, तमान, निसी र बडिगार्डबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी रोकिएका छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here