
बागलुङ, १८ भदौ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर १४ जनाको मृत्यु भएको छभने ३८ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपि राजेन्द्र रेग्मीले भूजीखोलामा आएको बाढीले ढोरापटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको बताए । उनले भुजीखोला तटीय क्षेत्र गाउँमा प्रवेश गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए ।
डिएसपि रेग्मीले मृत्तक मध्य पाँच जना पुरुष र ९ जना महिला रहेको जानकारी दिए । उनले मृत्तक मध्य एक जनाको मात्र सनाखत भएको बताए । ढोरपाटन नगरपालिका–९ की २६ बर्षिय केशमाया विक रहेको डिएसपि रेग्मीले बताए ।
मृत्तकरुको शब ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकासम्म भेटिएका छन् । शब कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छभने कतै खोला किनारको बालुवामा भेटिएका छन् । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको उद्धारको लागि घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, ३ वटा झोलुङ्गे पुल, एक जीप लगायत गाई वस्तु बगाएको छ ।
बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । भूजिखोलामा पहिरोले थुनिदा खोला बढेर आउँदा तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
बुधबार बेलुका घटना घटेपनि विहिबार विहान मात्र इलाका प्रहरी चौकी बुर्तिबाङको टोली र प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको थियो ।
यस्तै विहिबार दिउँसो राहत र उद्धार टोली सहित काठमाडौंबाट आएका गृहमन्त्री रामबहादुर थापा मौषम खराबीको कारण घटनास्थल नपुगी फर्किएका छन् । नेपाली सेनाको उद्धार टोली, संघिय सांसद देवेन्द्र पौडेलसहित राहत सामाग्री ल्याएर नेपाली सेनाको हेलिकोप्टरमा आएका गृहमन्त्री थापा मौषम खराबीको कारण हेलिकोप्टर अवतरण गर्न नसकेपछि पोखरा विमानस्थलमा अवतरण गरि केहि समय बसेपनि मौषममा सुधार नभएपछि काठमाडौं फर्किएका हुन् ।










