
बागलुङ, १७ भदौ ।
संयुक्त चार युवा क्लब बानपा–४ ले बुधबार ३२ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण बागलुङ नगरपालिकामा निषेधाज्ञा हुँदा मर्कामा परेका दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरुलाई लक्षित गरि क्लबले ‘हुनेले दिएर जाऔं, नहुनेले लगेर जाऔं’ फुड बैंक संचालन गरि आज (बुधबार) ३२ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
क्लबले अभियानमा सहयोग गर्नेहरुबाट खाद्यान्न संकलन गरि चामाल, दाल, नुन तेल लगायतका खाद्यान्न वितरण गरेको थियो ।
उक्त अभियानमा नेपाल प्रहरीका पूर्व डिएसपि टिकाबहादुर कार्कीले सहयोग गर्नुभएको छ । कार्कीले महामारीमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताउँदै २५ केजी चामल, १ केजी दाल, १ लीटर तेल, १ केजी प्याज, १ केजी नुन सहयोग गरेको बताउनुभयो ।
पूर्वडिएसपि कार्कीले यस अगाडी कोरोना भाइरस रोकथामको लागि काठेखोला गाउँपालिकाले स्थापना गरेको कोषमा आर्थिक सहयोग गर्नुभएको थियो ।












