बागलुङ, १८ बैशाख ।
विश्वका विभिन्न देशमा छरिएर रहेका बागलुङेहरुले धौलागिरी अंचल अस्पताल बागलुङलाई अति आवस्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।
उनीहरुले संकलन गरेको १० लाख ३० हजार रुपैयाँबाट स्वास्थ्य सामग्री खरिद गरी अस्पताललाई हस्तान्तरण गरिएको हो ।
पिपिई सांसद सूर्य पाठक र लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका उपाध्यक्ष गोबिन्द सुबेदीले अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि राना र प्रमुख डा. शैलेन्द्र बि पोख्रेललाई हस्तान्तरण गर्नु भएको थियो ।

अस्पतालले दुई जना कोरोना संक्रमित उपचार गरेर घर पठाएपछि आवश्यक सामग्री समेत जुटाउन भन्दै उनीहरुले सहयोग गरेको साँसद पाठकले बताउनुभयो । बागलुङ समाज जापान, कतार, स्पेन, पोर्चुगल, बेल्जियम, युएइ, कोरिया, क्यानडा, मलेसियाबाट सहयोग आएको उहाँले जानकारी दिनुभयो ।
बागलुङ युवा समाज अष्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, स्विडेन, फ्रान्स र नर्वे लगायतका देशमा बस्ने युवाले पनि सहयोग गरेका छन् ।  यो अभियानमा पोर्चुगलबाट सूर्य हमालले १ लाख ३० हजार, राज रेग्मीले १ लाख सहयोग गरेका छन् ।
बागलुङ सेवा समाज (जापान)ले १ लाख, बागलुङ सेवा समाज अष्ट्रेलियाले १ लाख, बागलुङ समाज जापानले एक लाख, बागलुङ समाज कोरियाले ७५ हजार, बागलुङ सेवा समाज कतारले ७० हजार, बागलुङ सेवा समाज स्पेनले ५० हजार, बागलुङ समाज पोर्तुगलले ५० हजार, बागलुङ समाज बेल्जियमले ५० हजार, बागलुङ सेवा समाज युएईले ५० हजार रुपैयाँ सहयोग गरेको अञ्चल अस्पतालले बताएको छ ।


त्यस्तै बागलुङ समाज क्यानडाले ५० हजार, नवराज पन्त सहित अमेरिकामा रहेका बागलुङेहरुले ५० हजार, बेलायतमा बस्नेहरुले ५० हजार, जर्मनी बस्ने राजेश केसी, दीपक खत्री, कृष्ण रिजाल, कृष्ण ढकाल र पदम केसीले ३० हजार, बागलुङ सेवा समाज मलेसियाले ३० हजार, राजन गौचन र विष्णु गौतम (नर्वे) २० हजार, बिक्कि सापकोटा बेलायतबाट १५ हजार प्रेम गौतम स्वीडेनबाट ११ हजार र ज्योति अधिकारी फ्रान्सबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको बताईएको छ ।
अस्पताल व्यवस्थापन समितिले पनि भौतिक पूर्वाधारसहित अन्य प्राविधिक बिषय पनि थप गर्दै प्रादेशिक तहको अस्पताल बनाउने अभियान चलाएको छ ।
गण्डकी प्रदेश सरकारले धौलागिरी अञ्चल अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरिसकेको छ । प्रदेश सरकारले नै गण्डकीका सबै अस्पतालमा आइसियु लगायतका उपकरण जडान गर्ने निर्णय गरेको छ । अस्पतालले भने यसअघिनै आइसियुको तयारी थालेको छ । भेन्टीलेटरसमेत जडान भएको छ ।
संघिय सरकारमार्फत समितिले अस्पतालमै बालबालिकाको लागि सिसियु र सिटिस्क्यान लगायतको सेवा थप गर्ने अभियान पनि चलाएको छ । सहयोगको आश्वासन पनि आइरहेको रानाले बताउनुभयो । उहाँले बिदेशबाट आउने सहयोगबाट अस्पतालको सुधारमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
कोरोना संक्रमण भएको थाहा पाएपछि पोखरा र काठमाण्डौका अस्पतालले समेत नमान्दा धौलागिरी अञ्चल अस्पतालले आइसोलेसन वार्ड बनाएर उपचार गरेपछि देशभरबाट अस्पताललाई साथ र सहयोग बढ्न थालेकोे हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here