मेरो आत्मबलले कोरोनालाई जित्योः मनकुमारी पौडेल

नविन शिशिर/अर्जुन कार्की
बागलुङ, ६ बैशाख ।
नेपालकै छैटौं तथा बागलुङकी दोस्रो कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेललाई रोग निको भएको छ ।
शनिबार स्वाबको चौथो तथा अन्तिम रिपोर्ट नेगेटिभ आएपछि उहाँ साँझ घर जानु भएको छ । चैत २० गते कोरोना संक्रमण पुष्टि भएपछि सोहि दिन राती ११ बजे धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएको उहाँलाई आजै डिस्चार्ज गरिएको छ । अस्पतालको आइसोलेसन वार्डमा फोनबाट आफुलाई रोग निको भएको थाहा पाउनुभएको ६५ बर्षिय महिलाले आफ्नो आत्मबलले रोगलाई जितेको बताउनुभयो ।


टेलिफोन कुराकानीका क्रममा उहाँले आत्मबल बलियो गराएपछि यस रोगलाई जित्न सकिदो रहेछ भन्ने आज पुष्टि भएको बताउनुभयो । ‘उहाँले डाक्टरहरु र घरबाट छोराले आत्मबल बलियो गराइ राख्न अनुरोध गर्नुभएको थियो मैले त्यसै गरे,’ उहाँले भन्नुभयो–‘दैनिक ५ लिटर तातोपानी खाएको थिए त्यसले पनि रोगलाई जित्न सहयोग गर्यो ।’
उहाँले आफुलाई पहिले देखि दम रोग रहेकाले पहिले देखि तातोपानी खाने गरेकाले अहिले पानी खान सजिलो भएको बताउनुभयो । ६५ बर्षिय आमाले आफ्नो उपचारमा दिनरात खटिनुहुने सम्पूर्ण डाक्टरहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले टेलिफोनमा भन्नुभयो–‘दैनिक विहान र बेलुका डाक्टरहरु आउनुहुन्थ्यो, सन्चो छ आमा भनेर सोध्नुहुन्थ्यो उहाँहरुले दैनिक सेवा गरेको कारणले आज सन्चो भए डाक्टर र नर्सहरुलाई धन्यवाद दिन चाहन्छु ।’ उहाँले डाक्टरहरु घरिघरि आउन नमिल्दो रैछ । यो रोगनै गतिलो रहेन्छ । त्यसैले दैनिक विहान र बेलुका आउने गरेको बताउनुभयो ।
उहाँले आफुलाई पहिले रोगको कुनै लक्षण नै नदेखिएको बताउनुभयो । ‘कोरोना लागेकोलाई खोकी लाग्ने, ज्वरो आउने भन्ने समाचार सुन्नेको थिए । लक्षण केहि थाहा पाइन । मेरो आत नै दह्रो भएकोले हो की । म सँगै आएकी नातिनीलाई रोग देखिएपछि मैले घरमा पनि छुट्टै कोठामा बसेको थिए ।’
उहाँलाई कोरोना पुष्टि भएपछि अस्पतालसम्म ल्याउन जान धेरै पापड पेल्नुपरेको थियो । तर उहाँले उक्त घटनालाई मनमा नलिएको बताउनुभयो । उहाँले मलाई ल्याउन डाक्टरले दह्रो मुटु गराएर चालक सहित एम्बुलेन्स लगेर जानुभएको थियो । मलाई ल्याउन जानको लागि पहिले खोजेको चालक कता गएछन उनलाई पनि ज्यानको माया लागे होला । अर्को चालकले दह्रो मुटु गराएर ल्याउन जानु भएको थियो । उहाँहरुले हामीले चेक गछौं राम्रोसँग राख्छौं भन्नुभएको थियो । अस्पतालमा ल्याएपछि ब्लड प्रेसरहरु चेक गर्नुभयो । समय लाग्न सक्छ आत्मबल दह्रो बनाएर बस्न भन्नुभएको थियो त्यसैले मेरो आत्मबलले रोगलाई जित्यो ।
उहाँले अस्पतालबाट विदा हुनु अगाडी घरबाट अस्पतालमा आउँदा छोराले एम्बुलेन्सको ढोका लगाएको समेत सम्झनुभयो । ‘म घरबाट आउँदा छोराले एम्बुलेन्सको ढोका लगाईदिँदै आत्मबल बलियो बनाएर बस्न अनुरोध गरेकाले कहिलै रोग लाग्यो भनेर निराश भइन । त्यसैको फल आज सन्चो भएर घर जाँदैछु । आत्मबल बलियो बनाएपछि यो रोगलाई जित्न सकिने रहेछ भन्ने लाग्यो उहाँले भन्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here