कोरोना भाइरस : सङ्क्रमण भएकी गर्भवती नर्सको मृत्यु, तर बच्चा ‘सकुशल’

काठमाडौं, ५ बैशाख ।
ब्रिटेनमा कोरोना भाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु भएको छ तर उनको गर्भबाट बच्चालाई शल्यक्रिया गरेर जीवितै निकालिएको छ ।
न्याश्नल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लूटनस्थित एउटा अस्पतालमा कार्यरत २८ वर्षीया मेरी आग्येईवा आग्यापोङको गत आइतवार मृत्यु भएको थियो ।
उक्त अस्पतालका एक प्रवक्ताले नवजात शिशु राम्रो स्थितिमा भएको जनाएका छन् । तर उनले शिशुको विषयमा थप जानकारी दिएनन् ।
दुई दिनअघि उनलाई कोभिड-१९ भएको पुष्टि भएपछि आग्यापोङलाई एप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो ।
बेड्फर्डशर हस्पिटल्स फाउन्डेशन ट्रस्टका प्रमुख कार्यकारी डेभिड कार्टरले आग्यापोङको कामको प्रशंसा गर्दै उनको मृत्युमा दु:ख व्यक्त गरेका छन् ।
आग्यापोङका पतिलाई पनि कोभिड-१९ भएको पुष्टि भएको छ । उनी अहिले एकान्तवासमा छन् ।
आग्यापोङका सहकर्मीहरूले उनको परिवारलाई आर्थिक सहयोग सङ्कलन गर्न लागेका छन् । त्यसका लागि उनीहरूले एउटा फन्डरेजिङ पेज बनाएका छन् । त्यसमा रकम जम्मा हुन थालेको छ ।

स्रोत : बीबीसी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here