
एजेन्सी, ६ चैत ।
कोभिड-१९ बाट प्रभावित स्पेनलाई संक्रमण नियन्त्रणका लागि बेइजिङले सहयोग पठाएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले स्पेनलाई कोभिड-१९ विरुद्ध लड्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग टेलिफोन वार्ता गर्दै उनले चीनले कोभिड-१९ विरुद्धको लडाइमा साथ दिने प्रतिवद्धता जनाएको सिन्ह्वाले जनाएको छ। योसँगै चीनबाट सहयोग सामाग्री स्पेन पठाइएको छ । राष्ट्रपति सिले संकटलाई अवसरको रुपमा परिणत गर्न अन्तर्राष्ट्रिय समुदायहरुले एक भएर काम गर्ने र अन्तर्राष्ट्रिय स्वास्थ्य सुरक्षाका लागि सहयोग आदानप्रदान गर्ने बताएका छन् ।
‘पानी परेपछि सूर्य अवस्य उदाउँछ’, राष्ट्रपति सिले विश्वास व्यक्त गरेका छन्, ‘महामारीविरुद्ध दुई देशले साझेदारी गर्ने छन् । दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने छ ।’
टेलिफोन वार्ताका क्रममा स्पेनका प्रधानमन्त्रीले स्पेनमा रहेका चिनियाँ नागरिकहरुको सुरक्षा गर्ने प्रतिवद्धता जनाएका छन् ।










