
पर्वत, २० फागुन
कुश्मा नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि आयोजित २ दिने सहकारी व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ ।
कुश्मा नगरपालिकाको आयोजनामा सञ्चालित तालिममा नगरपालिका सञ्चालित सहकारीका पदाधिकारी, सञ्चालक तथा व्यवस्थापकसहित ६५ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुले कुश्मा नगरपालिकामा सञ्चालित सहकारीहरुलाई सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरी सदस्यहरुको आर्थिक सामािजक रुपान्तरणमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएकाले सबै मिलेर सहकारी क्षेत्रलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले कुश्मा बजारमा सञ्चालित सहकारीहरुको बारेमा प्रशासन कार्यालयमा गुनासा र उजुरीहरु समेत परेको भन्दै सहकारीका मूल्य, मान्यता र सिद्धान्त अनुसार अगाडि बढ्न सुझाव दिनुभयो । पालिकाहरुसंग समन्वय गरेर सहकारी क्षेत्रको अनुगमन गर्ने तयारी भएको भन्दै उहाँले नियम विपरित चल्ने सहकारीहरुलाई कार्वाही गरिने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी.(अञ्जु) ले सहकारीहरु स्वनियमनमा सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र आदर्शको पालना नगर्दा सहकारीप्रति नकारात्मक धारणा उत्पन्न भएको भन्दै उहाँले स्वनियमनमा रहेर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिन सहकारीहरुलाई आग्रह गर्नुभयो ।
कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेको अध्यक्षता र सहकारी शाखाका प्रमुख ऋषिराम शर्माको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा तालिमका प्रमुख प्रशिक्षक रामबहादुर जिसी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष शेषराज रेग्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष इन्द्रमान खत्री, सहभागीहरु णेश पौडेल र विष्णुमाया लम्सालले तालिमले भर्खर भर्खर उठ्न खोजेको पर्वतको सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढ्न तथा सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुसार सदस्य केन्द्रीत भएर अगाडि बढ्न सहयोग पुगेको बताउनु भएको थियो ।
सहकारी ऐन अनुसार स्थानीय तह भित्र कार्यक्षेत्र रहेका सहकारीहरुलाई पालिकाले नियमन, अनुगमन, प्रवद्र्धन गर्नुका साथै नियम विपरित चलेका सहकारीलाई कार्वाही गर्ने व्यवस्था रहेको छ ।
२ दिनसम्म सञ्चालन भएको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, कृषि विकास बैंक शाखा कार्यालय कुश्मामा प्रमुख भोलानाथ शर्मा, कृषि सामग्री कम्पनी कुश्माका प्रमुख नारायणप्रसाद शर्मा, नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्माले सहजीकरण गर्नु भएको थियो ।
तालिममा सहकारीको अवधारणा, महत्व, मूल्य मान्यता र सिद्धान्तहरु, सहकारी दर्ता, नियमन, अनुगमन, निरीक्षण, एकीकरण र विघटन, सहकारी ऐन नियमावली, सञ्चालक र व्यवस्थापनको काम कर्तव्य र अधिकार, सहकारीमा जोखिम व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएकोे नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।










