माेवाईलबाटै विद्यालयका गतिविधि नियाल्न मिल्ने ´स्मार्ट स्कुल एप्स’

बागलुङ, २३ माघ ।
झट्ट सुन्दा विश्वास नलाग्न पनि सक्छ मोवाईलबाटै विद्यालयको गतिविधि नियाल्न सकिने । तर यो प्रयोग सत्य हो । कोर्ड लगिस टेक्नोलोजिले निर्माण गरेको स्मार्ट स्कुल एप्लीकेशन (एप्स) विद्यालयका हरेक गतिविधिलाई नियाल्न मिल्ने गरी विकास गरेको सफ्टवरयले यो सम्भव भएको हो ।
मोबाइल एप्सबाट विद्यालयमा विद्यार्थीको उपस्थिति, गृहकार्य, परिक्षाफल, विद्यालयको सूचना, मासिक शुल्क, विद्यालयको सवारीसाधन रहेको स्थान लगायतको बारेमा जानकारी प्राप्त गर्न सकिने एप्सका कन्सेप्ट डिजाइनर जयबहादुर मल्लले जानकारी दिनुभयो ।


बिहिबार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा मल्ललेस्मार्ट स्कुल एउटा मोबाइल एप्स भएको र त्यसले विद्यार्थीहरु विद्यालय पुगे नपुगेको, गृहकार्य, विद्यालयको सूचना लगायतको बारेमा जानकारी गराउँदै शिक्षक, विद्यार्थी र अभिभावकहरु विच समन्वयको भुमिका खेल्ने बताउनुभयो । उहाँले अहिले धेरै विद्यालयहरुमा विद्यालयको प्रधानाध्यापक विद्यालय बाहिर हुँदा आफ्नो विद्यालयमा के भइरहेको छ भन्ने जानकारी पाउन नसक्ने अवस्था रहेकोमा त्यसको अन्त्य गर्दै जहाँबाट पनि विद्यालयको बारेमा जानकारी प्राप्त गर्न एप्सले सहयोग पु¥याउने बताउनुभयो । ‘घरबाट विद्यालय जान्छु भनेर विद्यार्थी नजाने गरेको पाइन्छ’ मल्लले भन्नुभयो–‘आफ्नो छोराछोरी घरबाट विद्यालय हिड्पछि विद्यालय पुगे नपुगेको बारेमा एप्समा तुरुन्त थाहा पाइन्छ ।’ मोबाइल एप भएकाले सूचना प्राप्त गर्नको लागि इन्टरनेटको आवश्यकता पर्नेछ ।
उहाँले एप्समा परीक्षाफल, विद्यालयका सूचना, विद्यार्थीहरुको मासिक दस्तुर लगायतको बारेमा समेत जानकारी उपलब्ध हुने बताउनुभयो । विद्यार्थीहरुले दैनिक गृहकार्य गरेमा उनीहरुको शैक्षिक सुधार हुने भएकाले गृहकार्य भएनभएको बारेमा समेत एप्समा जानकारी दिइने भएकाले अभिभावकहरुले आफ्नो बालबच्चाको गृहकार्यको बारेमा थाहा पाएर गर्न लगाउन सहज हुने मल्लले जानकारी दिनुभयो ।


सवारी भएका विद्यालयहरुमा एप्सबाट आफ्नो बालबच्चा चढेको सवारी बस कहाँ पुग्यो भनेर हेर्न सकिने जनाइएको छ । यस्तै विद्यालयमा र सवारीमा सिसिटिभिको समेत व्यवस्था गरिनेछ ।
कम्पनीले बागलुङको ताराखोला गाउँपालिकाका ६ ओटा विद्यालयहरुमा उक्त एपको सुरुवात गरिसकेको जनाएको छ । यस्तै म्याग्दीका ४ स्थानिय तहमा पनि एपको सुरुवात गर्न लागिएको मल्लले जानकारी दिए ।
उक्त एप संचालनको लागि विद्यालयहरुले १० हजार रुपैयाँ तिर्नुपर्नेछ । उक्त रकमले विद्यालयमा तालिम संचालन लगायत एप निर्माण गरिने कम्पनीले जनायो । एप संचालन गरेको विद्यालयका विद्यार्थीहरुले प्रतिव्यक्ति भ्याट सहित वर्षिक १ सय १३ रुपैयाँ तिर्नुपर्ने जनाइएको छ ।
उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले प्रविधिको युग भएकाले स्मार्ट स्कुल उपयोगी एप भएको बताउनुभयो । उहाँले शिक्षाको सुधारको लागि विद्यालय र अभिभावकहरु विच राम्रोसम्बन्ध निर्वाह गर्ने बताउनुभयो ।
पत्रकार सम्मेनलको संचालन स्मार्ट स्कुलका बागलुङ प्रतिनिधि सज्जन कुमार सिंहले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here