
बागलुङ, ८ माघ ।
बागलुङमा माघ १६ गतेदेखि आयोजित दोस्रो मेयर कप अन्तर नगरपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगीताको तयारी तिव्र पारिएको छ ।
खेल संचालनको लागि खेल मैदानको निमार्ण तथा प्रचार–प्रसारको काम अन्तिम चरणमा पुगेको हो ।

प्रतियोगीता संचालन हुने बाङ्गेचौर खेल मैदानमा रंगरोगन, नाली निर्माण, खानेपानी व्यवस्थापन तथा ट्वाईलेट बाथरुम मर्मत गरिएको जिल्ला फुटबल संघ (एन्फा) बागलुङका कोषाध्यक्ष सूर्य लामिछानेले जानकारी दिनुभयो ।
प्रतियोगीतामा विगतका भन्दा फरक झापा, तुल्सीपुर, भरतपुर जस्ता ए डिभिजनका खेलाडी समावेश नगरपालिकाले इच्छा व्यक्त गरेका छन् । बागलुङ नगरपालिकाले खेलाडीलाई खाना बस्न सुविधा दिए पनि आउने जाने यातायात खर्चको व्यवस्थापन गर्न सके नयाँ नयाँ नगरपालिकाका खेलाडी भित्र्याउन सकिने कोषाध्यक्ष लामिछानेको भनाई छ ।
प्रतियोगितामा देशभरका नगरपालिकाहरु र उपमहानगरपालिकाहरुले भाग लिन पाउने र स्थानियतहको सिफारिसमा राष्ट्रिय खेलाडीहरु पनि समावेश हुन पाउने प्रावधान राखिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
नगरपालिकाले राष्ट्रिय दिवसको दिनमा कार्यक्रम गर्ने सोचका साथ शहिद दिवसको दिनमा मेयरकप आयोजना गरेर यसलाई नियमित दिदै अगाडी बढ्ने पौडेलले बताउनुभयो ।

प्रतियोगिता संचालनको लागि नगरपालिकाले २१ लख ९६ हजार १ सय १० रुपैयाँ लागतको अनुमान गरिएको छ । प्रतियोगितामा १२ देखि २० टिमसम्मले सहभागिता जनाउने अपेक्षा लिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता खुल्ला गरिएपछि यस वर्ष पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरा उपमहानगरपालिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।










