हाम्रो अभिभारा समृद्ध र नमुना काठेखोला

मनिभद्र शर्मा
नमूना काठेखोला गाउँपालिका निर्माणका संभावना र सन्दर्भहरु समावेशगरी प्रस्तुत मेरोे अघिल्लो लेखलाई थुप्रै पाठकहरुलाई प्रिन्ट मिडियाका साथै खवरवे अनलाईनमा पढन् पाउने गरि यसका संचालकज्यूहरुले पठ्निय सामाग्रीको रुपमा राख्दा देश विदेशमा रहनु भएका थुप्रै साथीभाई एवं मित्रहरुले दिनुभएको सकरात्मक प्रतिक्रियाले निरन्तर लेखनीमा जुट्ने प्रेरणा प्राप्त भएको छ । पत्रिकाको लेख अध्ययनगरि सृजनात्मक सुझावदिनुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक आभार व्यक्त गर्दै लेख, रचना मार्फत निरन्तर भेटने प्रतिवद्धता व्यक्त गर्दछु ।
काठेखोला गाउँपालिकालाई नमुना गाउँपालिका कसरी बनाउने भन्ने लेख पक्कै पनि पूर्ण छैन र यहाँहरुबाट प्राप्त सुझावहरु अत्यन्त सान्र्दभिक छन् र मन्न योग्य छन् । हिमाल पहाड र तराई मिलेर बनेको नेपालको भूवनोट, गाउँ नै गाउँले भरिएको नेपाल जहाँ विकास र समृद्धीको कुराकानी जोडदार रुपमा उठन थालेको मात्र हैन विकासका पूर्वाधारहरु निर्माणको अभियानले क्रमश गति लिर्दै र तिव्रता पाउदै गईरहेको छ । सवैको इच्छा शक्ति तथा सकरात्मक सोच र भावनाले नै समाजको रुपान्तरण संभव छ । भनिन्छ सकरात्मक मान्छे असल र बुद्धिमानी मान्छे हुन्छ । जस्ले गाली र घृणा भित्र पनि अर्ति र उपदेश पाउछ, पहाडको ढुगामा पनि देवता देख्दछ, कसैले गाली गर्दैे रिसाएर हानेको ढुंगा टिपेर सर्वसाधारण हिड्ने बाटो बनाउछ, दुख र पीडामा झरेको आशुमा पनि संभावना र खुशि भेट्छ साथै कठिन परिस्थितिमा पनि आफ्नो धैर्यता गुमाउदैन आज हाम्रो विकास समृद्धि र अरुको सामु नमुना बन्ने कुरा गरिरहंदा हरेक नागरिकमा सकरात्मक भावना विचार र परिवर्तन प्रतिको दृढता हुनु पहिलो शर्तको रुपमा रहेको छ । विकासको मुख्य सूचकको रुपमा सडक निर्माण र सडक संजालको विस्तार र विकास हो । आज हाम्रा सडकहरु अत्यन्त कमजोर छन् । सडक निर्माणको न त गुणस्तर छ, न त कुनै मापदण्ड र इन्जिनियरिङ अध्ययन र सर्वेक्षणका आधारमा भएका छन् । अत्यन्त हचुवाका भरमा अन्यन्त असुरक्षित सडक निर्माणका कारण दुर्घटनाका सयौ समाचारहरु अखवारमा सुन्न र देख्न पाईने साथै यात्रा गर्दा साच्चीकै भय र डरको मानसिकतामा बांचिने हो कि हैन भन्ने भावनाका साथमा यात्रा गर्नुपर्ने परिस्थितिले सबैलाई चिन्तित तुल्याएको छ ।
साच्चीकै हाम्रो गाउँपालिका नमूना गाउँपालिका वनाउने हो भने सडक विस्तार सुधार र गुणस्तरिय बनाउनु अपरिहार्य रहेको छ । सडक सुधार विस्तार र सडक किनारामा वृक्षारोपण गरि वातावरण र पर्यावरणमा सुधार गर्ने तर्फ गाउँ तथा नगरपालिकाहरुको ध्यान पुग्न सकेमा मात्र अहिले मृत्युमार्ग जस्तै वनेका सडकलाई भरपर्दो र आरमदायि वनाउन सकिन्छ । यसका लागि स्थानिय निकाय, राज्य तथा आमनागरिकको सहयोग सहकार्य र एकतावद्ध प्रयासको जरुरी पर्दछ ।
आज राज्य, निजी स्तर तथा नागरिक समाजका तर्फबाट देशमा भरपर्दो लगानी मैत्रीवातावरण नहँुदा शिक्षालाई व्यवहारिक र बैज्ञानिक वनाउन नसक्दा देशका कैयौ सक्षम, योग्य, विद्धान र क्षमतावान युवा शक्ति विदेश पलायन हुनु परेको छ । जसले गर्दा एकातर्फ देशको बौद्धिक युवा जमातले आफ्नो उर्जावान समय विदेशमा विताउन बाध्य भएका छन्भने अर्कातर्फ पारिवारिक रुपमा लामो समय छुट्टीएर एक्लाएक्लै बस्दा विभिन्न पारिवारिक समस्याहरु समेत दखिन थालेका छन् । यसले देशको विकासमा प्रत्यक्ष रुपमा असर पु¥याएको छभने युवाको क्षमताशिप र मेहनत राष्ट्रको उत्पादन र विकासमा लगाउन सकिएको छैन । जसले गर्दा देश विकास हुन सकिरहेको छैन । त्यसैले मेहनत गरे देशमै सुन फलाउन सकिन्छ भन्ने भनाईलाई चरितार्थ गर्न स्वदेशमै युुवा स्वरोजगार तालिमहरु, बिउँ पूंजी स्वरुप अनुदान सहयोग उपलब्ध गराउने वातावरण सृजना गर्नुका साथै विकासका अवसर र संभावनाहरुको खोजी गरी आर्थिक लगानी गर्न सक्षम युवाहरुलाई लगानी मैत्रीवातावरण निर्माण गर्न सकेमा हाम्रो ठाउँलाई साच्चीकै नमूना बनाउन सकिन्छ । त्यस तर्फ पनि सरोकारवाला सवैको ध्यान जानु जरुरी रहेको छ ।
नेपाल एक विकासोन्मुख राष्ट्र हो आज संसारका जतिपनि विकसीत मुलुकहरु छन् ति मुलुकहरुले सूचना र प्रविधिको राम्रो विकास गरि अफूंलाई समृद्धितर्फ अगाडि वढाएका छन् । नेपालमा पनि बहुदलिय व्यवस्थाको आगमन संगै सूचना र प्रविधिमा सकरात्मकर प्रशंसा गर्न लायक विकास गरेको छ । सूचना र प्रविधिलाई आम नेपाली सामु पु¥याउने र सबै नेपालीलाई त्यसको प्रयोगको पहुंच सुनिश्चित गर्न सकेमा अवश्य पनि हाम्रो गाउँपालिका नमूना बन्न सक्छ त्यसै गरि हरेक स्थानिय निकाय सूचना प्रविधिमा सक्षम र आत्मनिर्भर वन्न सकेमा देश समृद्ध वन्न सक्छ त्यसका लागि हरेक गाउँमा इ–लाईव्रेरी स्थापना गर्ने तथा सूचना संचार केन्द्र स्थापनागरी पठन पाठन र सिकाई प्रकृयामा आई सि.टि. को प्रयोग गरि अगाडि बढाउन सकेमा सूचना प्रविधिमा फडको मार्न सकिन्छ । जसले नेपाली समाजलाई अन्र्तराष्ट्रिय विकास र समृद्धिका वारेमा जान्ने र बुझने अवसर दिलाउन सक्दछ । देशमा उद्योग धन्दा तथा प्रविधिहरुको विकास गरि देशको विव्र विकास गर्न सकिन्छ ।
हाम्रो गाउँपालिका नमुना गाउँपालिका बनाउन समाजमा बुढ्यौली लागेर घरले जाजा र वनले आईज आईज भन्ने उमेरका वृद्धवृद्धा बाबाआमाहरुलाई परिवार र समाजमा उपेक्षा र हेला भाव होइन माया र सम्मान दिनुपर्दछ । वृद्धवृद्धा भनेका अनुभवका पोका सम्मानका भोका हुन्छन भन्ने भावनाको विकास गराउन सकेमा उनीहरुलाई सम्मान र खुशिका साथ बाच्ने वातावरण बन्दछ । वास्तवमा त्यो परिवार त्यो समाज नमुना र प्रशंसा योग्य हुन्छ । जहाँं पाको उमेरका बुढाबुढी बाबाआमाहरु खुसी र उमंगमा रमाई रहेका हुन्छन । जस्का लागि स्थानिय निकायमा जेष्ठ नागरिक क्लव, वृद्धाश्रम, संचालन गर्ने तथा जेष्ठ नागरिकलाई सम्मान सहित उनीहरुको स्वास्थ्य परिक्षण शिविरहरु तथा निशुल्क सर्भसुलभ औषधोपचारको व्यवस्था गरिनु पर्र्दछ । असल सभ्य र नैतिकवान जनशक्तिको विकासले मात्र कुनै पनि समाज र राष्ट्रको विकासमा योगदान दिन सक्दछ जसरी जगवलियो भएमा घर वलियो बन्न सक्दछ त्यसै गरि बालवालिकाहरु नैतिकवान, चरित्रवान र इमान्दार भएभने समाजको विकास गर्न र समाजलाई सकरात्मक बाटोमा अगाडि वढाउन सकिन्छ ।
त्यसैले हाम्रो गाउँपालिका नमुना बन्नका लागि हाम्रा बालवालिकाहरुमा नैतिकताको खडेरी पर्र्न नदिने, नैतिक शिक्षा दिने, असल संगत र सहि कार्यमा लाग्ने उत्प्रेरित गर्ने जसका लागि स्थानिय स्तरमा विभिन्न बाल संजालहरु, प्रतियोगितात्मक बाल प्रतिभा प्रस्फुटन कार्यक्रमहरु, बाल क्लव गठन, बालमैत्री स्थानिय शासन संचालन र बालअधिकारको पालनामा जिम्मेवारी बोधका साथ लाग्नु पर्दछ ।
अर्कातर्फ आधा आकाश ओगटेका महिलाहरु सदियौ देखि पितृसत्तात्मक सोच र शासन व्यवस्थावाट निर्देशित र संचालित हुंदै आईरहेका छन् जसले गर्दा महिलाहरु दोश्रो दर्जाको नागरिक हुन बाध्य छन् भने विभिन्न वाहनामा विभिन्न हिंसाको मारमा पर्दै आईरहेका छन् । त्यसैले समाजमा विद्यमान लैगिंक विभेद तथा लैगिंक हिंसाको अन्त्यका लागि समाजमा लैगिंक भूमिका परिवर्तनमा जोड दिई सदियौ देखि विभेद र अपहेलनाको जांतोमा पिसिदै आएका महिलाहरुलाई राजनीति, स्वास्थ्य, शिक्षा तथा सहभागिता र प्रतिनिधित्वमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरी महिलाहरुलाई आयमूलक र उत्पादन मूलक कार्यमा सरिक गराई महिला वर्गको सम्मान पूर्ण जिवन जिउन सक्ने वातावरण बनाउन सकेमा हाम्रो गाउँपालिका साँचो अर्थमा नमुना गाउँपालिका बन्न सक्छ । यसका साथै समाजमा विद्यमान सवै खालका विभेद र असमानताहरुको अन्त्यगरी सवैले सम्मानित जीवन जिउन सक्ने अवस्था बनाउन सकेमा पक्कै पनि हामीले खोजे जस्तो सुखी र समृद्ध गाउँपालिका बनाउन सकिन्छ यसमा सवैको जिम्मेवारी बोध, जवाफदेहिता एवं इमान्दार प्रयासको जरुरी पर्दछ ।