संकटमा हिमाली जनावर चौंरी र याक

81

मुस्ताङ, १४ मंसिर ।
फक्तालुङ गाउँपालिका ६ घुन्सा ताप्लेजुङका चुङ्दाक शेर्पाले गत वर्ष १९ वटा याकसहितको गोठ बेचे । एक हप्ताभित्रमा ७ वटा याक ब्वाँसोले खाइदिएपछि आजित बनेका उनी पुख्र्यौली पेसा छोड्न बाध्य बनेका हुन् । वर्षौंदेखिको याक गोठ रित्याएका चुङ्दाकलाई अब के गर्ने भन्ने अन्योल छ ।
‘अब कसरी गुजारा चलाउने भन्ने समस्या त छँदै छ’, उनले भने, ‘त्यो भन्दा ठूलो चिन्ता परम्परागत पेसा छोड्नुपरेकोमा छ ।’ घुन्साकै छेतेन शेर्पाले चार दशकभन्दा बढी समय खम्बाचेनस्थित गोठमै बिताए । बाबु, बाजेले गरेको पेसालाई निरन्तरता दिएका उनी पनि गोठ छोडेर घर फर्केका छन् । उनी बैकल्पिक पेसाको खोजीमा छन् ।
तिब्बती ब्वाँसोले याक र चौंरी खाइदिएपछि दुवैले पशुपालन छाडेका हुन् । ‘एउटा याकको ९० हजारदेखि १ लाख ५ हजारसम्म पर्छ’, चुङ्दाकले भने, ‘ब्वाँसोले कति बेला आएर मार्छ, थाहै पाइँदैन ।’
घुन्सा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाली चुङ्दाका अनुसार यो क्षेत्रको फलेदेखि कञ्चनजंघा हिमाल आधार शिविरसम्म याक र चौंरीका गोठ हुन्थे । वन्यजन्तुकै कारण आजित भएर छोडेको उनले सुनाए । ‘५ वर्षअघिसम्म प्रत्येक घरको गोठ थियो’, हिमालीले भने, ‘शेर्पाको पुस्तौंदेखिको पेसा लोप हुने अवस्थामा पुग्यो ।’ सबैले तीन दिन हिँडाएर तिब्बत लगेर याक बिक्री गरेका हुन् ।
यो क्षेत्रमा अब नुपु शेर्पाको एउटा गोठ मात्रै बाँकी छ। खम्बाचेनस्थित गोठमा ६० वटा याक छन् । त्यसमध्ये २४ वटा दुहुना छन् । त्यसमध्ये एउटा डी ९माउ याक० मंगलबार दिउँसै ब्वाँसोले खाइदिएको नुपुका छोरा तेञ्जिङले सुनाए ।
ब्वाँसोलाई खान दिनुभन्दा बेचेर अरु काममा लगाउने निष्कर्षमा आफू पुगेको तेञ्जिङले सुनाए । चौंरी पालेर घिउ, छुर्पी र चमर बिक्री गर्दै आएका यो क्षेत्रका बासिन्दा अहिले कोही पर्यटन व्यावसायमा, कोही होटल व्यवसायमा लागेका छन् । कोही विकल्प खोज्दै छन् ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने यहाँ हिउँ चितुवाले पनि त्यत्तिकै दुःख दिने गरेको तेञ्जिङ सुनाउँछन् । हिउँ चितुवाले क्षति गरेमा कृषकले बिमाबापत ८ हजार रुपैयाँ पाउँछन् । तर, ब्वाँसोको बिमा छैन । पशु बिरामी भएर मरे भने त्यसको पनि बिमा छैन । संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले कृषकलाई क्षतिपूर्तिबापत ८ हजार रुपैयाँ दिने गरेको छ ।
तर त्यति राहतले केही नपुग्ने किसानको गुनासो छ । ‘एउटा याक, चौंरी मर्दा एक लाखसम्म क्षति हुन्छ । तर, बिमा ८ हजार रुपैयाँ मात्रै पाइन्छ, यो रकम कागज मिलाउँदै सकिन्छ’, नुपुले भने, ‘बिमा नाम मात्रैको छ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here