
काठमाडौं, ११ मंसिर
अकुत सम्पत्ति आर्जनमा अर्का नायबसुब्बा थपिएका छन्– मदनप्रसाद गुप्ता । अख्तियारले मालपोत कार्यालय सिमराका तत्कालीन नासु गुप्ताविरुद्ध १५ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको छ । उनी मालपोत कार्यालय कलैया बारामा दरबन्दी भई सिमरामा कार्यरत थिए ।
२७ वर्षे जागिरेकालमा उनको खर्च तथा लगानीको तुलनामा आम्दानी कम देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए ।
अख्तियारको अनुसन्धानले ४ करोड ५४ लाख रुपैयाँ मात्रै वैध आर्जन ठह¥याएको छ । यो सम्पत्ति तलब पारि श्रमिक, बचत, आय, घरजग्गा बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा, छोरा रकीको आय, घरबहाल आयसमेत गरी हो ।
जम्मा १९ करोड ३६ लाख ६५ हजार खर्च तथा लगानी देखिएको प्रवक्ता कोइरालाले सुनाए । १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्ति स्रोत नखुलेको पाइएको छ।
गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदमा सेवा प्रवेश गरेका थिए । उनी २०६४ मा नासुमा बढुवा भएका हुन् ।
उनले मालपोत पर्सा हुँदै सिमराका निमित्त प्रमुख भएर काम गरेका थिए । उनले आफू तथा आफ्नो परिवारका सदस्यसहित अन्य व्यक्तिका नाममा पनि दर्ता कायम रहने गरी घरजग्गा, सवारी साधन र व्यवसायलगायत विभिन्न शीर्षकमा खर्चरलगानी गरेको देखिएको छ ।
अख्तियारले उनीसहित नौ जनाविरुद्ध मुद्दा दायर चलाएको हो । श्रीमती रीतादेवी, छोराहरू विक्की र रकी, अन्य कविता कुमारी, नीरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको कोइरालाले बताए ।
उनीहरूविरुद्ध १० वर्षसम्म कैद सजाय र बिगोबमोजिमको सम्पत्ति जफत गर्न माग गरिएको छ । अख्तियारले गुप्ताविरुद्ध १५ करोड बिगो माग गरेको छ ।
उनले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । नक्कली रसिदबाट राजस्व संकलन गरी राज्यकोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले गत जेठ १ गते नै गुप्ताविरुद्ध मुद्दा चलाएको थियो ।
अख्तियारका अनुसार २०७४ कात्तिक २० देखि २०७५ साउन २८ सम्म ३ करोड ३७ लाख ९८ हजार ७४६ रुपैयाँ सक्कली रसिदबाट राजस्व संकलन भएको थियो ।
त्यही अवधिमा नक्कली रसिद प्रयोग गरी १ करोड ३५ लाख ७० हजार २९४ रुपैयाँ राजस्व संकलन गरिएको थियो । ४ करोड ७३ लाख ६९ हजार ४० रुपैयाँमध्ये २ करोड ५० लाख ८६ हजार ६४० रकम सरकारी कोषमा दाखिला नगरेको अख्तियारको दाबी छ ।
आजको अन्नपूर्ण पोष्टबाट









