डेंगु प्रकोप : दक्षिण एसियामा एकै भाइरस

काठमाडौं, २७ भदौ ।
एडिस एजिप्टाई प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन् । यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन् ।
‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा.बीएन नागपालले भने । लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए । समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा.लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तत्व जिम्मेवार रहेको बताइन् । डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ ।
लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा।नागपालले बताए । उनीहरू डब्लूएचओ, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको कार्यक्रममा सहभागी थिए । डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन् ।
डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ। ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ । उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको अनुमान छ ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here