एकद्वार संकट व्यवस्थापन केन्द्रमा सेवा लिने पीडितको संख्यामा वृद्धि

बागलुङ, २६ असार । बागलुङमा रहेको लैङ्गिक हिंसा सम्वन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रमा पीडितहरुलाई दिइने निःशुल्क सेवा लिनेको संख्यामा बृद्धि भएको छ ।

धौलागिरी अञ्चल अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रको आयोजनाले बिहीबार आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा गतवर्ष भन्दा यस वर्ष केन्द्रबाट ३३ जना बढिले उपचार तथा परामर्श लिएको बताइएको थियो ।

अस्पतालमा विगत ७ बर्षदेखि केन्द्र स्थापना गरेर सेवा दिन थालिएको हो । घरेलु हिंसा, यौन हिंसा र मानसिक समस्या भएकाहरुलाई केन्द्रमा राखेर उपचार गराउने गरिन्छ । केन्द्रमा गत आर्थिक वर्ष २०७४/०७५ मा १ सय जना पीडितिहरुले सेवा लिएकोमा चालु आर्थिक वर्ष २०७५/७६ को असार २४ सम्म बृद्धि भई १ सय ३३ जना पीडितहरुले सेवा लिएको फोकल पर्सन देवी भट्टराईले बताउनुभयो । उहाँले सेवा लिनेहरुमा यस वर्ष पुरुषहरुको संख्या पनि वृद्धि भएको बताउनुभयो । फोकल पर्सन भट्टराईका अनुसार गतआर्थिक वर्षमा ९ जना पीडित पुरुषहरुले सेवा लिएकोमा यसवर्ष वृद्धि भई २० पुरुषले सेवा लिएका छन् ।

केन्द्रमा आउने पीडितलाई मनोसामाजिक बिमर्श मार्फत शारिरीक र मानसिक उपचार गरिन्छ । एक साता सम्म राखेर गरिने उपचारपछि परिवारका सदस्यलाई समेत सामाजिक बिमर्श गराएपछि पुनस्थापना गर्ने गरिएको भट्टराईले जानकारी दिनुभयो । यसरी सेवा लिनेमा यस वर्ष बागलुङका १ सय १८ जना, पर्वतका १० जना, म्याग्दीका ३ जना र अन्य जिल्लाका २ जनाले सेवा लिएका छन् ।

बागलुङमा १९ वर्षदेखि ५९ वर्षसम्मका महिला र पुरषहरु बढि मात्रमा पीडितहरु रहेको पाइएको छ ।

‘केन्द्रमा धेरै जसो टिनएजर विद्यार्थीहरु रहेका छन्’ प्रमुख भट्टराईले भन्नुभयो–‘मानसिक रुपमा पीडित विद्यार्थीहरुले आफ्नो पीडा अरुलाई व्यक्त गर्न नसक्नु र उनीहरुको मनोभावना विपरीत अभिभावक र शिक्षकले पढ्न लगाउने गर्नाले टिनएजरको संख्यामा वृद्धि आएको हो ।’ उहाँका अनुसार केन्द्रमा आएका पीडितहरुलाई उपचार र परामर्श दिने गरेको बताउनुभयो । ‘यहाँ आउँदा धेरै जसो पीडितहरु सुरुमा खुल्नु हुँदैन’ भट्टराईले भन्नुभयो–‘हामीहरुको परामर्श र उपचार पछि विस्तारै खुल्दै जाँदा के कारण रहेको पत्ता लाग्ने गरेको छ ।’

बागलुङमा लैङ्गिक हिंसाको संख्या पहिलेदेखि नै बढि रहेको र अहिले उपचार गराउनेहरुको संख्यामा बृद्धि भएको नभइ खुल्नेहरुको संख्या बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डाक्टर सागर राजभण्डारीले जानकारी दिनुभयो । सुपरिटेण्डण्ट राजभण्डारीले अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वारा संकट व्यवस्थापन केन्द्र रहेको भन्ने प्रचारप्रसार र कुनै पनि हिंसा लुकाएर बस्न नहुने भन्ने जनचेतनाले पीडितहरुको संख्यामा वृद्धि आएको बताउनुभयो ।

यस्तै अञ्चल अस्पतालकी मेडिकल अफिसर सर्मिला ढकालले महिला र पुरुष दुवैमा लैङ्गिक हिंसा हुनेगरेपनि ३५ प्रतिशत महिलाहरु हिंसामा पर्ने गरेको बताउनुभयो । उहाँले हिंसामा पर्ने महिलाहरुमा २२ प्रतिशत महिलाहरु यौन हिंसाको सिकार बन्ने गरेको बताउनुभयो ।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सागरकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको वार्षिक समिक्षा कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको मन्तव्य र अञ्चल अस्पतालका मेडिकल रेकडर तिर्थराज गौतमले संचालन गर्नुभएको थियो ।

केन्द्रले लैङ्गिक हिंसामा परेका पीडितहरुलाई मनोपरामर्श दिनुका साथै निःशुल्क उपचार गर्ने गरेको छ । उनीहरुलाई उपचार गराउन आउँदा यातायात खर्च र जिल्लामा उपचार सम्भव नभएमा रिफर गर्ने गरिएको केन्द्रले जानकारी दियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here