सीमारेखाले छेकेन आत्मीयता

भद्रपुर, २० जेठ ।
बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा ।
दुई बस्तीका मानिसको भौगोलिक सिमाना र नागरिकता फरक। तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी वारि र पारिका बासिन्दाको आत्मीयलाई भौगोलिक सिमानाले छेकेको छैन । साह्रोगाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरू अघि सर्छन् ।
पारिपट्टिकी एक महिलाले मुठीभरि जिरा पैंचो लिएर गइन् । ‘मेरो भारतीय छिमेकी दिदी हो,’ स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ ।’ उनका अनुसार दुई छिमेकीबीच भारतीय र नेपाली भन्ने छैन। परेका बखत सबैले सरसहयोग गर्छन् ।
भारततिर आधारभूत सुविधा शून्य छ । नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ । ‘मेरो चार पुस्ताले यही ठाउँमा जीवन बिताए,’ श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन् ।
भारततर्फ बिजुली छैन । अहिलेसम्म मट्टितेलबाट नै बत्ती बाल्छन् । शौचालय छैन । मेची खोलामा जान्छन् शौच गर्न । ‘मठमन्दिर एउटा पनि बनाएका छैनन् । उनीहरू सबै नेपालतिरैका मठमन्दिरमा पूजाआजा गर्न आउँछन्,’ हकले भने ।

 

आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here