
बागलुङ, ३० साउन
बागलुङ सदरमुकामको छेउमा आकर्षक रुपमा रहेको धौलागिरी बहिरा बिद्यालय । भीरकै माथि ठडिएको छ । यो ठाउँमा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर वरिपरी तारवार समेत लगाइएको छ । उसो त बिद्यालयका शिक्षक, कर्मचारीहरुको रेखदेख पनि उस्तै छ । तुलनात्मक रुपमा कडा सुरक्षा र निगरानी हुँदाहुँदै पनि, बिद्यालय समयमै शिक्षक, कर्मचारीको आँखा छलेर बिद्यालयमा अध्ययनरत दुई बहिरा बिद्यार्थी बुधवार भाग्ने क्रममा अकल्पनीय दुर्घटना बेहोर्न बाध्य भए ।
कक्षा १० मा पढ्दै गरेका बागलुङको जैमिनी नगरपालिका पैयुथन्थापका २३ बर्षिय साजन परियार र तनहुँ जिल्ला ब्यास नगरपालिकाका २० बर्षिया सोनी –नाम परिवर्तन) विगत दुई बर्षदेखी प्रेम सम्वन्धमा भएको उनका सहपाठीहरु बताउँछन् । त्यही सम्वन्धलाई बिवाहमा परिणत गर्ने निर्णय पछि बुधवार मध्यान्ह बिद्यालय समयमै उनीहरुले भाग्ने योजना बनाएका थिए । बिद्यालयबाट मध्यान्ह १२ः३० बजे अर्थात (पाँचौ घण्टी पढ्दै गर्दा ) तिर गोप्य रुपमा भाग्ने क्रममा नजिकैको भिरबाट लडेर साजन गम्भिर घाइते भएका छन् । विद्यालय पोषकसँगै तिव्रगतिमा भाग्दै गर्दा भिरबाट लडेर गम्भिर भाईते भएका हुन । घाइते परियारको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।
घटना भएको केही समयमै उद्धार गरि धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका लागि लगिएका उनको मेरुदण्ड भाँचिएको अस्पतालले जनाएको छ । उपचारमा सम्लग्न चिकित्सकहरुले ‘स्पाइनल कट’ को समस्या देखिएकाले अब शरिरको तल्लो भाग चल्ने सम्भावना न्युन देखिएको बताएका छन् । उपचारमा चामत्कारिक सुधार नभए साजनले अब प्यारालाइसिसको समस्या बेहोनुपर्नेछ । गण्डकी अस्पतालमा उपचाररत परियारको अप्रेशन गर्नुपर्ने भएको फूपु मिना परियारले जानकारी दिनुभयो । पोखरामा अप्रेशन सम्भव छैन मिनाले भन्नुभयो– ‘तुरुन्तै काठमाण्डौ लैजाने सल्लाह दिनुभएको छ, खर्च कसरी जुटाउने ।’ उपचारको लागि ८ देखि १० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । सोनी (नाम परिवर्तन) र साजन दुवै बिद्यालयकै होस्टेलमा निःशुल्क रुपमा अध्ययन गर्दै आएका थिए ।
‘दुवै जनाको सरसल्लाह मुताविक भाग्ने र पोखरा तिर गएर बिवाह गर्ने योजना बनाएका रहेछन्, बिद्यालयका प्रधानध्यापक मदुसुदन निउरेले भन्नुभयो–, ‘बिद्यालयकी सोनीको सल्लाह अनुसार पहिल्यै भागेर बिद्यालय भन्दा तल पोखरा–बागलुङ राजमार्गको घुम्टीमा –गणेश घुम्टी) पुगिसकेकी रहेछन्, यता कक्षा चलिरहेकै बेला साजनले दुवै जनाको झोला, कपडा लिएर कसैले देख्ने सन्त्रासमा हतास मनस्थिति लिएर दौडिदा भिरबाट लर्किएर दुर्घटना भएको हो ।’ प्रअ निउरेका अनुसार साजनलाई दुर्घटना भएर धौलागिरी अञ्चल अस्पताल पु¥याउदा पनि कान नसुन्ने भएकाले सोनी अर्को छेउको घुम्तीमा साजनकै प्रतिक्षामा थिइन् । धेरै पछि मात्र दुर्घटना भएको जानकारी पाइन् तर बिद्यालय फर्किन असहज लागे पछि उनी एक्लै पोखरा पुगेको बताइएको छ । एक दिन पोखरा बसेकी सोनी विहीबार म्याग्दी बेनीमा बस्ने साथीको घरमा पुगेकी थिईन । उनको साथीले शुुक्रबार विद्यालयमा उपस्थि गराईन र सोनीलाई उनका बुवा मानबहादुर आलेका प्रहरीको रोहबरमा बुझि घर लैजानुभएको छ ।
बिद्यालयका शिक्षक र अभिभावकको कुरा नसुनेर भावनामा बहकिदा यस्तो घटना भएको मानबहादुरले बताउनुभयो । साजनका बुवा भारतमा मजुदरी काम गर्छन् भने आमाको केही बर्ष अघिनै देहान्त भइसकेको छ ।
‘कक्षा ९ देखी नै साजन र सोनी अफियरमा भएको जानकारीमा आएको थियो,’ ‘बिद्यालयका प्रधानध्यापक मधुसुदन न्यूरेले भन्नुभयोे, ‘हामीले त्यो सूचना पाए पछि पटक–पटक उनीहरुलाई छुट्टाछुट्टै राखेर पनि सम्झाई बुझाई समेत गरेका थियौ, तर गुरुहरुको सुझाव नमान्दा आज यस्तो दुर्घटना भएको छ, यो घटनाले हामी चिन्तित र थप सचेत समेत भएका छौ ।’ उहाँले बिद्यार्थी र अभिभावकहरु पनि यि र यस्ता बिषयमा अब गम्भिर बन्नुपर्ने बताउनुभयो ।









