बागलुङमा बढ्दो क्रिकेट क्रेज, अभाव भौतिक पूर्वाधार

अर्जुन कार्की
बागलुङ, ३० साउन
नेपाल राष्ट्रिय टिमका फाष्ट बलर करण केसीलाई अहिले नेपालमा नचिन्ने कमै होलान । केसी बागलुङका हुन तर धेरैलाई लाग्न सक्छ बागलुङमा न त क्रिकेटको खेल मैदान छ न त राम्रो सुविधा नै कसरी उनी राष्ट्रिय टिममा पर्न सफल भए ?
बागलुङको सिगानामा जन्मे पनि सानै उमेरदेखि छिमेकी देश भारतमा बस्दै आएका केसी २०७१ सालमा आफ्नो नागरिकता बनाउन जन्मभुमी आएको बेला राष्ट्रिय टिममा पर्न सफल हुनुभएको हो ।
नागरिकता बनाउन बागलुङ आएको बेला बाङ्गेचौर खेलमैदानमा बागलुङका खेलाडीहरुसँग क्रिकेट खेल्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेपछि उहाँलाई पोखरा जानको लागि बागलुङका खेलाडीले सुझाव दिएका थिए । सोही सुझाव अनुसार पोखरा पुग्नुभएका केसी फाष्ट बलरको रुपमा अहिले राष्ट्रिय टिमको नियमित रोजाईमा पर्न सफल हुनुभएको छ ।

जिल्ला खेलकुद विकास समितिले उपलब्ध गराईदिएको नेटमा अभ्यास गर्दै खेलाडी । तस्विरः खबरवे

करणको खेल जिवनमा टर्निङ रुप दिन सफल बाङ्गेचौर खेल मैदान हो । बागलुङका प्रायः सवै खेलहरु हुने मैदान बाङ्गेचौर खेलमैदान भएतापनि उक्त मैदान पुर्ण रुपमा फुटबल मैदान हो । उक्त मैदानको सुरक्षाको लागि अहिले जिल्ला खेलकुद विकास समिति बागलुङले तारजाली लगाएपछि क्रिकेट खेलाडीहरुलाई अभ्यास गर्नको लागि मैदानको अभाव भएको छ ।
अहिले क्रिकेट नेपालमा फुटबल जस्तै लोकप्रिय खेल बनिरहेको बेला बागलुङका खेलाडीहरु भने सधैं जसो व्याट र बल बोकेर खेल मैदानको खोजीमा डुल्ने गरेका छन् ।
पहिले हामी बाङ्गेचौर खेलमैदानमा तयारी गर्ने गरेका थियौं तर अहिले तारजाली लगाएपछि अभ्यास गर्न गाह्रो भएको छ धौलागिरी क्रिकेट क्लबका कप्तान विजय विकले भन्नुभयो–‘ अहिल उपल्लाचौरमा रहेको बागलुङ बसपार्क नजिकको अभ्यास गरिरहेका छौँ । उक्त तयारी गर्ने मैदान सानो, भिरालो रहेको छ  ।
बागलुङमा अहिले युवाहरुको क्रिकेटमा धेरै क्रेज रहेता पनि खेल संघसंस्थाहरु र सम्बन्धीत पक्षले ध्यान नपु¥याउँदा खेलाडीहरुमा उत्साह कम हुँदै गएको छ । अहिले हामीले आफ्नै खर्चमा राष्ट्रिय स्तरका लिगहरु खेल्न गइरहेका छौं खेलाडी किसान खड्काले भन्नुभयो खेल मैदानको अभाव, खेलाडीको भविष्य लगायतको विषयमा खेलसम्बन्ध संघसंस्थाहरुले अझै नसोचने हो भने २/३ वर्षमा बागलुङमा नयाँ खेलाडीहरुको उत्पादन गर्न सकिदैन ।’
बागलुङको क्रिकेट विकास गर्नको लागि प्रशिक्षक, २ वटा पिच, खेल सामाग्रिहरुको व्यवस्थापन भए मात्र सम्भव रहेको खेलाडीहरुको आशा छ । अहिले जिल्ला खेलकुद विकास समितिले अभ्यासको लागि नेटको व्यवस्थापन गरिदिए पनि पिचको अभावका कारण आफै ठाउँ खोज्दै तयारी गरिरहेको खेलाडी शिव जिसीले बताउनुभयो ।
जिल्लामा २ वर्षदेखि संचालनरत हरि खड्का स्मृति राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बाङ्गेचौर खेलमैदानमा तारजाली लगाएपछि खेल प्रतियोगीता संचालनमा अन्यौल सिर्जना भएको बताइएको छ ।

बाङ्गेचौर खेलमैदान

राष्ट्रिय टिममा समावेश हुनको पश्चिमाञ्चलबाट बागलुङलाई १ ओटा कोटा परेतापनि बागलुङको नागरिता भएका अन्यत्र बस्ने खेलाडीहरुले प्राथमिकता पाइरहेका छन् । राष्ट्रिय टिमको छनोटको बेला पश्चिमाञ्चलमा छनोट समिति आउँदा पश्चिमाञ्चलका क्रिकेटका संघसंस्थाबाट कुनै जानकारी नपाइने अवस्था रहेको खेलाडीहरुको गुनासो रहेको छ । पश्चिमाञ्चलका केही खेलाडीहरुसँगको चिनजानले गर्दा ३, ४ जना खेलाडीहरुलाई पश्चिमाञ्चलमा हुने प्रतियोगिताहरुमा समावेश भइरहन पाएको खेलाडीहरुले जानकारी दिए ।
बागलुङको एक मात्र खेल मैदान बाङ्गेचौर खेल मैदान हो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले भन्नुभयो ‘उक्त मैदानमा हामीहरुले सवै खेललाई पालै पालो खेल्नको लागि अनुरोध गरेका छौं ।’
‘हामीले सवै खेललाई प्राथमिकताका साथ लिएका छौं’ अध्यक्ष परियारले भन्नुभयो अहिले बागलुङमा क्रिकेटको लागि मात्र हैन धेरै खेलको लागि मैदान अभाव छ ।’ ‘हामीले अहिले आउटडोर खेलहरुको लागि मैदानको व्यवस्थापन गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरिरहेका छौं’ खेलकुद विकास समितिका अध्यक्ष परियारले भन्नुभयो ‘अब छिट्टै सवै खेलहरुको लागि मैदानको व्यवस्थापन गर्नेछौं ।’