
बिक्रम सुनार
बागलुङ, २९ साउन ।
धौलागिरि चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एक मात्र बागलुङ–पोखरा राजमार्गमा खाल्डै खाल्डा हुँदा यात्रुहरुले अझै पनि सास्ती भोग्न बाध्य भएका छन् ।
विक्रम सम्वत २०४८ सालमा निर्माण गरिएको यो सडक खण्ड स्तरोन्नति हुनुको सट्टा थप जिर्ण बन्दै जान थाले पछि यात्रुहरुले सास्ती खेप्न बाध्य छन् ।
विशेष गरि पर्वतको डिमुवा, पातीचौर लगायतका विभिन्न ठाउँहरुमा पुरानो पक्की सडक उक्किने, खाल्डो पर्ने, वर्षाका कारण पहिरोका कारण अवरुद्ध हुँदा यात्रा कष्टप्रद र जोखिमपूर्ण भएको यात्रु कुष्णराज आचार्यले बताउनुभयो ।
बागलुङदेखि पोखरा सम्म ७२ किलोमिटरको दुरी रहे पनि सडक विस्तार तथा समयमै मर्मत नगर्दा यात्रा अवधि पनि लम्बिने गरेको छ । यस सडकमा दैनिक साना–ठुला ६ सय सवारी साधन आवतजावत गर्दछन् । सामान्यतयाः बाटो राम्रो हुँदा झण्डै डेढ घण्टामा पुग्न सकिने सडकमा अहिले साढे दुई देखी ४ घण्टा सम्म लाग्ने गरेको चालक लक्ष्मुण मगरले बताउनुभयो ।
सरकारले वर्षेनी अरवौ रुपैयाँ सडक निर्माणमा खर्चिने गरेता पनि निर्माण कम्पनी तथा ठेकेदारले लाभ कमाउने उदेश्यले छिटो र कम गुणस्तरीय हिसावले निर्माण गरिदिने प्रवृत्तिले यात्रुहरुले समेत सास्ती खेप्न बाध्य बनेका छन् ।
कैयन स्थानमा सडक साँघुरो हुनु, सडकको छेउछाउमा अधिकाशं स्थानमा भत्किनु, यथेष्ट मर्मत सम्भार नहुनु, ठाउँ ठाउँमा पहिरो जाँदा पनि सम्वन्धित निकाय र राज्यको ध्यान नजानु दुःखद बिषय अर्का चालक प्रेम थापाले बताउनुभयो ।
काठमाण्डौ, विरगञ्ज लगायत देशका विभिन्न स्थानबाट धौलागिरिका मुस्ताङ, बागलुङ, म्याग्दी र पर्वत लाई गन्तव्य बनाएर यही राजमार्ग हुँदै सवार गर्ने गरेका छन् । यसरी ४ जिल्लालाई प्रत्यक्ष रुपमा सुविधा दिँदै आएको राजमार्ग जिर्ण बन्दै गएपनि सम्बन्धित निकायले त्यसको मर्मत सम्भारका लागि कुनै चासो नदेखाएको यातायात व्यावसायीको भनाई छ । सडक डिभिजन कार्यालय पोखराले अघिल्लो बर्ष केही स्थानहरुमा कालोपत्रे गरेर मर्मत सम्भार गरेको भए पनि एक बर्ष नपुग्दै उक्त कालोपत्रे समेत भत्किएका छन् ।
तर पश्चिमाञ्चल क्षत्रीय सडक निर्देशनालय/डिभिजन सडक कार्यालयले भने नियमित रुपमा मर्मत सम्भार कार्य भइरहेको बताएको छ । सडक डिभिजन कार्यालय बागलुङले भने यात्रु र यातायात व्यवसायीको प्राप्त गुनासोलाई ध्यानमा राखेर अघि बढिने बताएको छ ।









