
एजेन्सी, १८ जेठ
अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा दोश्रो ठुलो प्रतियोगिताका रूपमा हेरिंदै आएको आइसीसी च्याम्पियन्स ट्रफीको आठौं संस्करण भोलीदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । मिनी विश्वकपका रुपले चर्चित यस प्रतियोगितामा एकदिवसीय क्रिकेटको शीर्ष ८ स्थानमा रहेका देशहरुको सहभागिता रहनेछ ।

ओभल मैदानमा आयोजक इङ्ल्यान्ड र बंगलादेशबिचको उद्घाटन खेलसँगै प्रतियोगिताको सुभारम्भ हुनेछ । समूह ‘ए’ मा आयोजक टोली इङ्ल्यान्डसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड र बंगलादेश समावेश छन् ।समूह ‘बी’मा भने साविक विजेता भारतसँगै पाकिस्तानम दक्षिण अफ्रीका र श्री लंका रहेका छन् । वरियताको शीर्ष ८ मा पर्न असफल वेष्ट इन्डिज प्रतियोगितामा सामेल छैन ।
प्रतियोगिता अन्तर्गत समुह चरणबात शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् र एक अर्काको समूहका विजेता र उपविजेताले फाइना प्रवेशका निम्ति खेल्नेछन् ।
प्रतियोगिताको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको आयोजक कमिटीले जानकारी दिएको छ । गत साता म्यानचेस्टरमा भएको आत्मघाती हमलाका कारण बेलायती सरकारले सुरक्षा व्यवस्थामा जोड दिन विशेष निर्देशन दिएको थियो ।









