
एजेन्सी, १८ जेठ
बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका नवनियुक्त प्रशिक्षक अर्नेस्टो भालभेर्देले बार्सिलोनालाई अझै माथिल्लो स्तरमा पुर्याउँदै क्लबलाई ठूलो क्लबका रुपमा पुन:स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।
एथ्लेटिक बिल्बाओबाट बार्सिलोना आएका प्रशिक्षक भालभेर्देले यसअघि सन १९८८ देखि १९९० सम्म प्रशिक्षक योहन क्रायफको ऐतिहासिक बार्सिलोना टोलीबाट खेलेका थिए। उनले त्यस समय र अहिले धेरै फरक रहेको बताए । “त्यो धेरै पहिलाको समय थियो । मा आफैं अहिले बुढो भइसके । त्यो समय र अहिले धेरै भिन्नता आइसकेको छ । म त्यसबेला युवा अवस्थामा थिएँ र अनुभव थिएन । तर अब मा परिपक्व भइसकेको छु र यो कदम कति महत्वपूर्ण छ भन्ने मैले महसुस गरेको छु ।”
उनले आफुले खेलेको क्लबले विश्वास गर्दै प्रशिक्षकको भूमिका निर्वाह गर्ने अवसर दिएकोमा आफुलाई भाग्यमानी ठानेका छन् । “मैले यस क्लबबाट खेलाडीको रुपमा खेलें र अहिले प्रशिक्षकको जिम्मेवारी बहन गर्न पाउँदा एकदम खुसि लागेको छ । मैले अरु क्लबमा पनि यस्तो भूमिका राम्रोसँग निर्वाह गरेको छु र यसलाई पनि त्यसै अनुरुप लाने विश्वास लिएको छु ।”
उनले समर्थकहरुलाई आफुले बार्सिलोनाको पद्दतिबाट उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पार्नेमा ढुक्क रहन सुझाए । “हामी समर्थकहरुलाई खुसि पार्न चाहन्छौं । खेलाडीहरु खेलप्रति दत्तचित्त भएर त लाग्ने नै छन्, समर्थकहरु प्रति पनि उत्तिकै व्यवहारमा उत्रिनेछन् भन्ने विश्वास मैले लिएको छु ।”
“बार्सिलोनाले बितेका वर्षहरुमा थुप्रै उपाधि जितेको छ । यसक्रममा बिभिन्न प्रशिक्षक र खेलाडीहरुले क्लबमा आफ्नो नाम लेखेका छन् । म त्यसलाई निरन्तरता दिंदै अझै उत्साह थप्ने जोश लिएर क्लबमा आएको छु ।”









