
बागलुङ, २६ भदौ
मातृभूमिको साधारण सभा सम्पन्न मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको आठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाले आगामी वर्षको लागि कार्ययोजना निर्माण गरेको छ । शेयर सदस्य, पूँजी र लगानी वृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने सहकारीका अध्यष गुणराज पौड्यालले बताए ।
सहकारीले यो वर्ष ८ करोड ५७ लाख १८ हजार ७ सय रुपैयाँको कारोबार गरेको जनाइएको छ । यसै वर्ष २० लाख ६ हजार शेयर पूँजी वृद्धि भएको सहकारीका कोषाध्यक्ष केदारनाथ पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, निक्षेप संकलन १८ करोड २१ लाख ६१ हजार ५ सय ५ रुपैयाँ रहेको छ । ५ करोड ८५ लाख भन्दा बढी ऋण लगानी भएको सहकारीले जनाएको छ । साधारणसभाका अवसरमा सचिव रामप्रसाद शर्माले प्रगति प्रतिवेदन र लेखा संयोजक सुरेन्द्र आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । उत्कृष्ट बचतकर्तातर्फ राजुप्रसाद गौतम, संस्थामा बढी उपस्थित हुनेबाट गंगाराम उपाध्याय, अग्रेजी विषयमा एमफिल गर्ने शेयर सदस्य टीकाराम सापकोटा र ज्येष्ठ शेयर सदस्य चन्द्रबहादुर थापालाई सम्मान गरिएको सचिव रामप्रसाद शर्माले जानकारी दिए ।
यस्तै, गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । जसमा सञ्जय शर्मा, समृद्धि सापकोटा, गायत्री शर्मा र स्मृति आचार्य रहेका छन् ।
साधारण सभामा बागलुङ बारका पूर्व अध्यक्ष राजुप्रसाद गौतम, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सदस्य राम थापा ‘अविरल’, सहकारीका सल्लाहकार ज्ञानेन्द्रराज पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारीका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत उपाध्यक्ष धिरेन्द्रराज पन्त र संचालनसचिव रामप्रसाद शर्माले गरेका थिए ।










