सहकारीलाई प्रवद्र्धन गर्ने ऐन निर्माण गर्न माग

बागलुङ, ११ भदौ
राष्ट्रिय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले सरकारले जवरजस्ती ल्याउन खोजेको ऐन सहकारीमैत्री नभएकाले अभियानले उक्त ऐनलाई अपनत्व ग्रहण गर्न नसक्ने बताउनु भएको छ ।
राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले शनिवार बागलुङ बजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कंडेलले यस्तो बताउनु भएको हो । सहकारी ऐन सहकारी क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक रहेको तर सरकारले नियन्त्रण गर्ने तरिकाले सहकारी ऐन संसदमा पठाएको दावी गर्दै उहाँले अभियानको तर्फबाट ६४ वटा संशोधन संसदमा दर्ता गर्ने तयारी भएको जानकारी दिनु भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सहकारी विभाग प्रमुखहरु, राष्ट्रिय सहकारी संघका अध्यक्ष र उपाध्यक्षका तर्फबाट विधेयकमाथि संशोधन राखेर सहकारी मैत्री ऐन निर्माणमा भूमिका खेल्ने तयारी भएको उहाले बताउनुभयो । उहाले सहकारी अभियानलाई वेवास्ता गरेर, सहकारीको प्रतिकुल ल्याइने ऐन मान्य नहुने चेतावनी समेत दिनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारी ऐनलाई सहकारी क्षेत्रको अनुकुलमा हुन नदिन विभिन्न षडयन्त्रहरु भैरहेकोले त्यसलाई चिरेर अगाडि बढ्नका लागि सबै सहकारीकर्मीहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । पोखरेलले राष्ट्रिय सहकारी बैंक मुलुकका सहकारीहरुको वित्तिय तथा संस्थागत क्षमता विकासका लागि सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले सहकारी संस्थाहरुको वित्तिय व्यवस्थापनदेखि सुशासन कायम गर्न, सहकारी शिक्षा तथा तालिमदेखि वैदेशिक सम्बन्ध विस्तार र सहकारी मार्फत हुने उत्पादन, प्रशोधन र बजारीकरणमा समेत सहकारी बैंकको सहयोग लिन सहकारी संघ संस्थाहरुलाई आग्रह गर्नु भयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानलाई शसक्त बनाउनका लागि बैंकको भूमिका क्रमश वृद्धि हुदै गएको जानकारी गराउनुभयो । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका निवर्तमान संयोजक कृष्णशंकर श्रेष्ठले सबै सहकारीहरुले सहकारी वैंक मार्फत कारोबार गर्न सकेमा मात्रै सहकारीको मर्म र भावना प्रतिविम्बित हुने धारणा राख्नु भएको थियो । जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जिल्लाको सहकारीको अवस्था र राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख सुरेश खनालले शाखाको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।