विद्युतीय पुस्तकालय हेर्दै, सुन्दै, पढ्दै

बागलुङ, १९ साउन/ बागलुङ सदरमुकाम स्थित विद्यामन्दिर पुस्तकालयमा सञ्चालित विद्युतीय पुस्तकालय पाठक र विद्यार्थीका लागि प्रभावकारी बनेको छ ।
पुस्तकालयमा कम्प्युटर प्रविधिबाट पुस्तक, विषयगत पाठ्य र सन्दर्भ सामग्री पढ्न पाइने व्यवस्था छ । हेरेर, सुनेर पढ्दा सिकाइमा सुधार आएको पाठकहरुले बताउने गरेका छन् । विसं २००३ मा स्थापित पुस्तकालयमा यसअघि पुस्तक र पत्रपत्रिका मात्र पढ्ने सुविधा थियो ।
प्रविधिको विकाससँगै पाठकीय रुचिमा आएको परिवर्तनलाई दृष्टिगत गरी पुस्तकालयले सँगै ‘विद्युतीय पुस्तकालय’ पनि चलाएको हो । विद्युतीय पुस्तकालय खुलेपछि पाठकको सङ्ख्या पनि बढेको पुस्तकालय व्यवस्थापनले जनाएको छ ।
पुस्तकालयाध्यक्ष राजेशचन्द्र राजभण्डारीका अनुसार अहिले दैनिक २० भन्दा बढी पाठकले विद्युतीय पुस्तकालयको प्रयोग गर्ने गरेका छन् । प्रयोग गर्नेमा अधिकांश विद्यार्थी रहेको बताइएको छ ।
विद्युतीय पुस्तकालयमा विद्यार्थी लक्षित पाठ्य सामग्री र सन्दर्भ सामग्री रहेको र विद्यार्थीले सुनेर, दृश्य हेरेर ज्ञान र सीप आर्जन गर्न सक्ने राजभण्डारीको भनाई रहेको छ । उहाँका अनुसार विद्युतीय पुस्तकालयमा १० हजारभन्दा बढी विषयगत पाठ्यसामग्री र एक लाखभन्दा बढी सन्दर्भ सामग्री छन् । पुस्तकालयमा शिक्षण सामग्री, पत्रपत्रिकासँगै अन्य शिक्षाप्रद सामग्री पढ्न, हेर्न पाइने सुविधा छ ।
इन्टरनेट नहुँदा पनि ‘वेभ–सर्भर’ प्रणालीबाट पुस्तकालय प्रयोग गर्न सकिने राजभण्डारीको भनाइ छ । दैनिकजसो विद्युतीय पुस्तकालय प्रयोग गर्न आउने विद्यार्थी भीमप्रसाद कँडेलले ‘मल्टिमिडिया’ प्रयोग गरेर पढ्न पाउँदा सिकाइमा उल्लेख्य सुधार आएको बताउनुभयो ।
सनराइज बोर्डिङमा पढ्ने कँडेलसँगै उनका अन्य साथी पनि दैनिक रुपमा पुस्तकालय आउने गरेका छन् । पाठकले आफ्नो रुचिका विधागत पुस्तक पनि विद्युतीय पुस्तकालयबाट पढ्न पाउने पुस्तकालयका मञ्जु केसीले बताउनुभयो । उहाँका अनुसार साहित्यका विभिन्न विधाका पुस्तक पनि कम्प्युटरबाट पढ्न पाइने व्यवस्था छ ।
गत वैशाखदेखि सुरु भएको विद्युतीय पुस्तकालय अहिले छ कम्प्युटरबाट सञ्चालन भइरहेको छ । साउनभित्र थप चार कम्प्युटर थपेर १० वटा पु¥याइने पुस्तकालय व्यवस्थापनले जनाएको छ ।
गैरआवसीय नेपालीको आर्थिक र नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा विद्युतीय पुस्तकालय सञ्चालनमा आएको हो । विभिन्न देशमा रहेका सम्बन्धित विद्यालयका पूर्व्विद्यार्थीले पुस्तकालय स्थापना र सञ्चालनका लागि आर्थिक सहयोग अभियान चलाएका थिए ।
बागलुङ घर भई हाल युरोपमा रहनुभएका फाउन्डेसनका युरोप संयोजक सोम सापकोटाले त्यसको नेतृत्व गर्नुभएको थियो । विद्युतीय पुस्तकालय चलाउन सापकोटाको पहलमा प्रवासमा सङ्कलित दुई लाख ५० हजार, जिविस बागलुङबाट ७० हजार, बागलुङ नगरपालिकाबाट ५० हजार र बागलुङ सेवा समाज कतारबाट ३० हजार प्राप्त भएको थियो ।