अर्जुन कार्की
बागलुङ, १८ साउन
बागलुङ जिल्लाको भीमापोखरा–६ को कचुल्डाँडाको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तिदेखि माथिको सडक विचबाटै चर्केसँगै बस्ती जोखिममा परेको हो ।
बस्तीको माथि रहेको करिव ३० मिटर सडकमा पहिरो गईसकेको र १ सय मिटर सडक चर्किएपछि कुन बेला पहिरो जान्छ भन्ने डर रहेको स्थानीय तारा कार्कीले बताइन ।
बाटो चर्किएको छ, कार्कीले फोनमा भनीन ‘पानी परेपछि कतीबेला पहिरो जान्छ भन्ने डरले गर्दा रातभरी जागराम बस्ने गरेका छौं ।’
मालिकादेखि पालाकोट, भीमापोखरा, धम्जा हुँदै बिहुँको रिजालचोक जोडने रिङरोडको असारमा बाटो चक्लाउने काम गर्नाले उक्त बस्ती पहिरोको जोखिममा परेको हो ।
माघ फागुनमा बाटो चक्लाउने काम गरेको भए यस्तो हुने थिए स्थानीय कार्कीले भनिन ‘असार मसान्त लाग्न लाग्दा रकम फ्रिज हुने डरले जथाभावी काम गर्नले यस्तो अवस्था आयो ।’
यस्तै उक्त रिङ रोडमा साढे १ महिना देखि सवारी साधन चल्न छाडेका छन् । रिङ रोडको तितौरेदेखि भीमापोखरा जोडने खहरेखोलामा पहिरो गएको कारण सवारी साधन चल्न छाडेको सवारी धनि युक्त प्रसाद पौडेले बताए ।
बगलुङ बजारदेखि पाला–८ तितौरेसम्म बल्लबल्ल जानेगरेका छौं पौडेलले भने–‘अब केही दिन पानी परेमा सवारी चलाउन नसकिने अवस्था रहेको छ ।’
सडक अवरुद्ध भएपछि सामानहरु ल्याउन दोव्वर भाडा तिर्नुपरेको व्यापारीहरुको गुनासो रहेको छ । तितौरेसम्म गाडीमा लगेपनि तितैरेदेखि मानिसहरु लगाएर लानुपर्नेभएकोले भाडा दोव्वर भएको व्यापारी ऋषिराम शर्माले बताए ।
यस्तै लगातारको अविरल वर्षका कारण भीमापोखराको अक्षते–सिम सडक खण्ड पनि १ हप्तादेखि अवरुद्ध भएको छ । भीमापोखरा–१ दपासाको धेरै ठाउँमा पहिरो बाटो अवरुद्ध भएको हो ।