म्याग्दी, १७ साउन
पहाडी जिल्ला म्याग्दीबाट एक वर्षको अवधिमा दश हजार किलोग्राम भन्दा बढी जडिवुटी निकासी भएको छ । आर्थिक वर्ष २०२/७३ मा म्याग्दीबाट विभिन्न १५ प्रजातिका १० हजार ६६८ दशमलब ७ किलोग्राम जडिवुटी जिल्ला बाहिर निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला बन कार्यालयका अनुसार, बर्षभरीमा सतुवा ६१४, साधारण च्याउ २१२, नागबेली ६००, निरमसी २७७, बिगजरा ४००, कुट्की, २ हजार ९५३, चिराइतो ६००, जटामसी १ हजार, अमलदेव ७००, भिरमह १ हजार १५३ दशमबल ४, सुगन्धवाल ८०, बनलसुन १०, यार्सागुम्बा १ दशमलब ५ किलोग्राम जडिबुटी निकासी भएको छ ।
त्यस्तै गैरकाष्ठ बन पैदावर अन्र्तगत गैर जडिबुटी अन्र्तगत २ हजार किलोग्राम अल्लो र ६७ दशमलब ८ किलोग्राम मइन समेत निकासी भएको सहायक जिल्ला बन अधिकृत अजयबिक्रम मानन्धरले जानकारी दिनुभयो ।
बर्षभरीमा उक्त जडिबुटी निकासीबाट जिल्लामा कुल रु १ लाख ८१ हजार राजश्व समेत संकलन भएको अधिकृत मानन्धरले बताउनुभयो । अघिल्लो बर्षको तुलनामा यार्सागुम्बा निकासीमा भारी गिरावट आएको छ । अघिल्लो बर्ष १२ किलोग्राम यार्सा निकासी भएकोमा गत आर्थिक बर्षमा जम्मा साढे १ किलो मात्रै निकासी भएको छ ।
यसैगरी वन कार्यालयले गत आर्थिक वर्षमा सामुदायीक बनबाट चिरानी काठ ओसार पसारका लागि पुर्जी जारी गरेबापत ४१ हजार ३८२ र निजी बनबाट गोलिया, चिरानी र दाउरा ओसार पोसारको पुर्जीबाट १ लाख ३६ हजार २९९ राजश्व संकलन गरेको जनाएको छ ।