
बागलुङ, १४ जेठ । गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
शुक्रबारबाट बागलुङमा सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेश र व्यवस्थापक जिल्ला खेलकुद विकास समिति बागलुङले बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी एक हजार दुई सय बढी सहभागी हुने जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताउनुभयो ।
प्रतियोगितामा ६ विधाका खेलहरु संचालन हुने अध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा पाँच विधाका खेलहरु बागलुङ नगरपालिका र कराँते काठेखोला गाउँपालिकामा संचालन हुने बताउनुभयो । अध्यक्ष कँडेलका अनुसार एथलेटिक्स, भलिबल, तेक्वान्दो बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुनेछभने उसु बागलुङ नगरपालिका–२ स्थित व्याडमिन्टन कभर्डहलमा र कबड्डी बागलुङ नगरपालिका–३ मा स्थित रसआवर फुटसल मैदानमा हुनेछ । यस्तै कराते काठेखोला गाउँपालिका–५ बिहुँकोट स्पोर्टस् कभर्डहलमा संचालन हुनेछ ।
प्रतियोगिताबाट ९० जना भन्दा बढी खेलाडी छनौट भएर केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने अध्यक्ष प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो । सदस्य सचिव शर्माले खेलकुद संस्कृतिमा जोड्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड हरेक वर्ष फरक–फरक जिल्लामा संचालन गरिएको बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न ८३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुने जिल्लाले ५० हजार, द्धितिय हुने जिल्लाले ३० हजार र तृतीय हुने जिल्लाले २० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।








