बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह

म्याग्दी, ८ भदौ । जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

निरन्तरको पहिराका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनीदेखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तीर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताए ।

निरन्तरको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक मर्मत गरी सिधा यातायात सञ्चालन गर्न समस्या भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले साउन ३२ गतेदेखि सडक खुलाउने र पहिरो खसेर अवरुद्ध हुने क्रम चलिरहेको बताए ।

आयोजना प्रमुख प्रजापति, इञ्जिनियर विष्णु चापागार्इं, डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल, अजय स्याङताङ, सुभर भाइजर इन्द्रसिंह शेरचनलगायतको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुइँठे, सुकेबगर, खामभिक्तालगायतका क्षेत्रमा अविरल वर्षासँगै दर्जन बढी ठाउँमा पहिरो खसेको छ। गुइठेभिरको पहिरोले फगामको डाँडामा रहेको प्रसारण लाइनको टावर जोखिममा परेको छ ।

कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिरोले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको आयोजना प्रमुख प्रजापतिले बताए ।

सडक अवरुद्ध हुँदा जलथले र दाना क्षेत्रमा सवारी साधन रोकिएका छन् । यात्रुहरू दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here