मेयर कप फुटबलः आयोजक बानपाको विजयी सुरुवात

अर्जुन कार्की
बागलुङ, १४ मंसिर । आयोजक बागलुङ नगरपालिका (निलो)ले तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा आईतबार भएको उद्घाटन खेलमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकालाई ५–० ले पराजित गर्दै बागलुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको छैठौं मिनेटमा बागलुङका दिप्लभ जिसीले गोल गर्दै अग्रता दिलाएका थिए । डिबक्स भित्रबाट राजिव श्रीसले दिएको उत्कृष्ट पासलाई जिसीले गोलमा परिणत गरे । खेलको ३८ औं मिनेटमा पेनाल्टी बक्सबाट बरदान थापाले गोल गर्दै बागलुङलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

बागलुङ नगरपालिकाको लागि खेलको ४९ औं मिनेटमा सुशिल मगर र ५८ औं निेटमा सौरभ गौतमले गोल गरेभने ७३ औं मिनेटमा आयुष पौडेलले गोल गर्दै ५–० को सहज जित दिलाए ।

खेलको अधिकांश समय बागलुङले विपक्षी जलजलामाथि दबाब कायम गरेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिमका कप्तान निशान थापा घोषित भए । उनले नगद २ हजारसहित ट्रफी पाए ।

प्रतियोगिता अन्तरगत भोली (सोमबार) तीन खेल हुने प्रतियोगिताका संयोजक सुदिप गौतमले बताए । सोमबारको पहिलो खेल जैमिनी नगरपालिका बागलुङ विरुद्ध बेनी नगरपालिका म्याग्दी, दोस्रो खेल गलकोट नगरपालिका बागलुङ विरुद्ध गण्डकी प्रदेश प्रहरी पोखरा र तेस्रो खेल कालिजंग गण घोडाबाधे विरुद्ध पैयुँ गाउँपालिका पर्वतका बिच हुनेछ ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगितामको फाइनल खेल १८ गते हुनेछ । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार रुपियाँ प्राप्त गर्ने छन् ।

बागलुङ नगरपालिकाले २०७४ सालमा पहिलो र २०७६ सालमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता संचालन गरेको थियो । त्यसपछि रोकिएको प्रतियोगितालाई यस वर्षबाट पुनः आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले स्थानीय स्तरबाट क्षमतावान खेल प्रतिभाहरूको पहिचान सहित उचित अवसर समेत प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उद्घाटन समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, जिल्ला खलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्ण प्रसाद कंडेल, बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जय बहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समिति अध्यक्ष सुरज बोसेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले स्वागत मन्तव्य र पत्रकार तारा प्रसाद शर्माले संचालन गर्नुभएको थियो ।