
बागलुङ, २४ कार्तिक । ढोरपाटन नगरपालिकाका स्थानीयहरुलाई १० दिने बेकरी तथा कपि बारिस्टा सम्बन्धी तालिम दिइएको छ ।
यु.एन.डी.पि र नेपाल पर्यटन बोर्डको आर्थिक तथा प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिकाको समन्वय र सहकार्यमा स्थानीय साझेदारी संस्था विवाईसी बागलुङको व्यवस्थापनमा संचालित दीगो पर्यटन परियोजना अन्तर्गत ढोरपाटन क्षेत्रमा १० दिन बेकरी सम्बन्धि तालिम र १० दिने कपि बारिस्टा सम्बन्धी तालिम गत बिहिबार सम्पन्न भएको हो ।
उक्त तालिमबाट ३८ जनाको सहभागिता रहेको थियो । सहभागीहरूले बेकरी र कफी सम्बन्धी व्यावहारिक ज्ञान, क्षमता र सीपमा सिकेका हुन् ।
बेकरी तालिममा सहभागीहरूले सामान्य ब्रेडदेखि कुकिज, केक, बर्गर बन, यकिनलगायत करिब ३० प्रकारका परिकार बनाउन र ओभनसहितका मेसिनरी सामग्री प्रयोग गर्न सिकेका छन् । त्यस्तै, कफी तालिममा सहभागीहरूले इस्प्रेसो बेस्ड तातो तथा चिसा पेय पदार्थ, क्यापुचिनो, अमेरिकानो, लाते, आइस मोका, मोजिनो, सेक, स्मुदीलगायत ३० भन्दा बढी परिकार बनाउन दक्षता हासिल गरेका छन् ।
कार्तिक ११ गते सुरु भएको तालिम गत बिहीबार सम्पन्न भएको थियो । समापन समारोहमा ढोरपाटन नगरपालिका–९ का कार्यवाहक अध्यक्ष नरमता पुनले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई सुझाव दिनुभयो । उहाँले ढोरपाटन पर्यटकीय क्षेत्र भएकाले स्वच्छ, ताजा र स्वादिष्ट परिकारका माध्यमबाट पर्यटक सन्तुष्ट पार्न यो तालिम उपयोगी हुने बताउनुभयो ।
तालिम समापन समारोहमा विवाइसी बागलुङका सचिव विक्रम शर्मा, सहभागी नारायण थापा, राजेन्द्र वि.क. र सुष्मा घर्ती मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दीगो पर्यटन परियोजनाका फोकल पर्सन बिमल शर्माले गर्नुभएको थियो ।
तस्विरः प्रेम केसी











