
बागलुङ, १६ जेठ । बागलुङमा जारी दोस्रो संस्करणको एसइइ स्तरीय आदर्श कप छात्र तथा छात्रा फुटबल प्रतियोगिताको दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।
शुक्रबार भएको छात्र तर्फको पहिलो खेलमा आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय (निलो)ले न्यू ओयसिस एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।
आदर्शको लागि खेलको सुझाव बानियाँले पहिलो हाफको १० औं र दोस्रो हाफको १९ औं मिनेटमा गोलगरेभने अभिशेक रोकाले पहिलो हाफको २० औं मिनेटमा गोल गरेका थिए । न्यू ओयसिसको लागि पहिलो हाफको १६ औं मिनेटमा समुन्द्र पुन र दोस्रो हाफको १४ औं मिनेटमा सनमले गोल गरेका थिए ।
छात्र तर्फको दोस्रो खेलमा न्यू एभरेष्ट (वि)ले रुद्रेपिपल माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको २१ औं मिनेटमा विरेन्द्र मल्लले गरेको गोल न्यु एभरेष्टको जितमा निर्णयक बन्यो ।
शुक्रबार छात्र तर्फको अन्तिम खेलमा चिल्ड्रेन लाइफ इङ्गलिस बोर्डिङ्ग स्कुलले अमर आदर्श माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गर्यो । चिल्ड्रेन लाइफको लागि दोस्रो हाफको छैठौं मिनेटमा निशान बुढा र २२ औं मिनेटमा बिशाल थापाले गोल गरे ।
यस्तै शुक्रबार छात्रा तर्फ आयोजक आदर्श विद्यामन्दिरले विद्यामन्दिर माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको तेस्रो मिनेटमा यमर दिन मियाँले गरेको गोल नै आदर्शको जितमा निर्णय बन्यो । यस्तै फ्युचर ब्राइटर माध्यमिक विद्यालय अनुपस्थित भएपछि रुद्रेपिपल स्वतः विजयी भएको हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आदर्श स्पोर्टस् क्लबको आयोजनामा संचालन प्रतियोगितामा शनिबार छात्र तर्फका चार खेल हुने अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो । शनिबार पहिलो खेल सिदार्थ शिक्षा सदन विरुद्ध न्यू एभरेष्ट (ए), दोस्रो खेल आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय विरुद्ध प्रिसियस एकेडेमी, तेस्रो खेल सनराइज आवासिय माध्यमिक विद्यालय विरुद्ध विद्यामन्दिर माध्यमिक विद्यालय र चौथो खेल गुराँस विद्या सदन विरुद्ध होलिचाइड विच हुने अध्यक्ष केसीले जानकारी दिनुभयो ।








