सडक सुधार र स्वरोजगारका कार्यक्रम संचालन गरेका छौंः वडा अध्यक्ष शर्मा

काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा दोस्रो पटक वडाअध्यक्षमा निर्वाचित भएर काम गरिरहनुभएको छ । दोस्रो पटक स्थानीय जनताले दिएको जिम्मेबारी पुरा गर्न उहाँ अहोरात्र खटिनुभएको छ । शर्मासँग वडावासीले विकास निर्माण, सुशासन र आर्थिक विकासका क्रियाकलपहरु तिव्र रुपमा संचालन हुने अपेक्षा गरेका छन् । वडाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र सेवा प्रवाहबारे भएका उपलब्धिसँग सम्बन्धित रहेर वडा अध्यक्ष विद्यापति शर्मासँग गरेको विशेष कुराकानीः
यहाँलाई जननिगरानी संवादमा स्वागत छ ।
– धन्यवाद ।

आराम हुनुहुन्छ ?
– हजुर आराम छु ।

भीमापोखरामा दोस्रो कार्यकाल अध्यक्षको रुपमा हुनुहुन्छ । के गरिरहनु भएको छ ?
– भीमापोखराको सेवामा समर्पित भएर आएको छु । यहाँका जनताको सेवा गरिरहेको छु । अहिले संघ र प्रदेश सरकारका बजेटहरू आउने क्रममा छन् र गाउँपालिकाको बजेट पनि आउने भएकाले त्यसैको तयारीमा जुटेको छु ।

चालु आर्थिक वर्षलाई फर्केर हेर्दा भीमापोखरामा के कस्ता काम भए ?
– काम गर्न धेरै बाँकी छन् । समाजको विकाससँगै नयाँ आवश्यकता र चुनौतीहरू थपिंदै जान्छन्, त्यसैले निरन्तर रूपमा काम गर्नुपर्ने रहेछ । विगत वर्षहरूमा हामीले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, तालिम, गोष्ठी, सशक्तिकरण आदिका क्षेत्रमा थुप्रै काम गरेका छौं ।

यो वर्ष विशेषगरी भीमापोखराको भौगोलिक अवस्थाले गर्दा मोटरबाटाहरू सुधार गर्न चुनौतीपूर्ण थियो । त्यसैले जहाँ समस्या थियो, त्यहाँ सोलिङ, ढलान, जाली राख्ने जस्ता कार्यहरू गरेका छौं ।

चालु आर्थिक वर्षमा कति योजना सम्पन्न भए ?
– चालु आथिर्जक वर्षमा करिब ८० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । बाँकी २० प्रतिशत कार्यान्वयनको चरणमा छन् । १–२ वटा योजना अझै सम्झौता गर्न बाँकी छन् ।

दैविक प्रकोप व्यवस्थापनसम्बन्धी एउटा कार्यक्रम छ । यो कार्यक्रम जेठ, असारमा गर्ने गरी बाँकी राखिएको हो, किनभने त्यतिबेला वर्षातले गर्दा सडकहरूमा समस्या आउँछ । उक्त समयमा वडामा बजेट सकिएर शुन्य अवस्था हुन्छ । आगामी वर्षको योजना असार १० गतेसम्म बनाउनुपर्ने र नयाँ आर्थिक वर्षको भदौं र असोजमा महिनामा योजना संचालन हुँदा काम गर्न ढिला हुने गर्दछ । त्यसैले दैविक प्रकोपको योजनालाई जेठमा सम्झौता गर्ने गरी बाँकी रहेका छौं ।

चालु वर्षमा वडाले सञ्चालन गरेका योजना कति वटा थिए ?
– वडा र गाउँपालिकाबाट २२ वटा योजना सञ्चालन गरेका छौं । जसमध्ये ८० प्रतिशत योजना सम्पन्न भएका छन्, बाँकी २० प्रतिशत कार्यान्वयनको प्रक्रियामा छन् । हामीले बाँकी काम पनि समयमै सम्पन्न गर्छौं भन्ने विश्वास छ ।

लाभ, हानी र सहभागिताको हिसाबले यी कार्यक्रमले जनतालाई सन्तुष्टि दिन सकेका छन् ?
– यो अपेक्षा हो । हामी जे गरिरहेका छौं त्यो जनताका लागि हो र जनतालाई नै त्यो योजनामा समावेश गरेर गरेका छौं । हाम्रो प्रयास जनतालाई सन्तुष्टि दिने नै हो । हामीले योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनका सबै चरणमा उपभोक्ताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेका छौं । आर्थिक पाटोमा हामीले केही पनि चलाउँदैनौं । योजनाहरू उपभोक्ता समितिमार्फत जिम्मेवारीपूर्वक, स्टिमेट बनाएर र उपभोक्ताहरूलाई नै सहभागी गराएर सञ्चालन गरेका छौं । त्यसैले विकासका कामप्रति जनतामा सन्तुष्टि देखिएको छभन्ने लाग्छ । तर, आवश्यकता भने निरन्तर थपिँदै जाने रहेछ । एउटा पूरा भयो भने अर्को अझ राम्रो गर्नुपर्ने देखिन्छ । त्यसैले जनताहरू कति सन्तुष्ट छन् भन्ने कुरा उनीहरूकै अनुभव र दृष्टिकोणमा भर पर्छ । तर, जनताको काम कार्यालयमा आओस् वा म घर, बाटो, बजार, गाउँ वा बस्ती जहाँ भए पनि, यदि कोही नागरिक काम लिएर आउनुभयो भने म यो गर्छु, त्यो गर्दिनँ भनेर छुट्याउँदिनँ । मसँग आएको काम पाँच मिनेटभित्र गर्ने प्रयत्न गर्छु । सक्दिन भने स्पष्ट रूपमा यो काम म गर्न सक्दिन भनेर भनिदिन्छु । यही नै मेरो अभ्यास हो र अहिलेसम्म गर्दै आएको छु ।

हालसम्म के–के काम गर्नुभयो ?
– हामीले धेरै कामहरू गरेका छौँ । ‘एक घर, एक धारा’ खानेपानी योजना विभिन्न बस्तीहरूमा सुरु गरेका छौँ, यद्यपि तीमध्ये केही कामहरू अझै बाँकी छन् । कतिपय योजनाहरू कार्यान्वयनको चरणमै छन् । राज्यको बजेट सबैलाई आवश्यकताअनुसार पूर्ण रूपमा उपलब्ध छैन । जति बजेटबाट कामको सुरुआत गरिएको थियो, ती कामहरू अझै सम्पन्न भइसकेका छैनन्, निर्माणाधीन अवस्थामा छन् । जस्तै– दपासा, डहरे, निरपाटा, नाकेधारा, कुर्थुके, गहते बस्तीमा हामीले ‘एक घर, एक धारा’ खानेपानी योजना सञ्चालन गरेका छौँ । अझै धेरै बस्तीहरू बाँकी छन्, तीमा पनि क्रमशः काम हुँदैछ ।

सिंचाइ कुलोका कामहरू पनि सम्पन्न भएका छन् । खहरेखोला–फाँट सिंचाइ, आहारा सिंचाइ, अधेरीखोला सिंचाइ, घुडीखोला–गैरी–सलाम सिंचाइ, र अधेरीखोला धम्जारा सिंचाइ योजनाहरू अहिले सुचारु भइसकेका छन् ।

सडक स्तरोन्नति र ढलानका कामहरू क्रमिक रूपमा अफ्ठ्यारो–अफ्ठ्यारो स्थानहरूमा भइरहेको छ । जिप सञ्चालन गर्न कठिन स्थानहरूमा सडक सुधार र ढलानका कामहरू गरेका छौँ । चालु आर्थिक वर्षमा अक्षेतेदेखि माथि अम्चुलडाँडासम्म ढलान गरिएको छ । त्यसैगरी, दपासाको दुध डेरिको उकालो, जनप्रिय आधारभूत विद्यालय तलको सडक र आलडाँडामा समेत ढलान सम्पन्न गरिएको छ । यसका साथै, प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत ८० लाख बराबरको योजना अन्तर्गतको काम अहिले सञ्चालनमा छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचिकृत कामदारहरूलाई सडक सुधारको काममा संलग्न गरिएको छ । उहाँहरूले ढुंगा फोड्ने, बोक्ने, सोलिङ गर्ने र दक्ष कामदारहरूले ढलानको काम गर्नुभएको छ । यसरी अफ्ठ्यारो स्थानहरूमा सडक स्तरोन्नति सम्भव भएको छ । साथै, स्थानीय स्रोतसाधनको प्रयोग र स्थानीयलाई रोजगारी दिने व्यवस्था भएकाले भीमापोखरामा यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।

यद्यपि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरिरहेका कामदारहरूलाई केही कठिनाइ हुन सक्छ, तर कामको प्रभावका हिसाबले यो कार्यक्रम निकै सफल र सकारात्मक रूपमा अगाडी बढेको छ । भीमापोखरामा जलाधर संरक्षण क्षेत्रमा काम गर्दैछौं । भूक्षय रोक्न कुमालेमा ग्याबिन वाल बनाएर बगिरहेको जमिनलाई नियन्त्रण गरिएको छ ।

नागरिकलाई रोजगारीसँग जोड्न के–कसरी काम गर्नुभएको छ ?
– एउटा पहल भनेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई जोड्नु हो । यस कार्यक्रममा सूचीकृत कामदारहरू मात्रै सहभागी हुनेछन् र तिनीहरूले ज्याला प्राप्त गर्नेछन् । अहिले युवाहरू विदेश जाने चलनले गाउँमा कमै हुनुहुन्छ । त्यसैले गाउँमा रहेका युवा र महिलाहरूलाई काममा जोड्न बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत व्यक्तिहरूलाई तीन समूहमा बाँडफाँड गरेर वडाको बजेट एक समूहलाई ८ लाख र बाँकी दुई समूहलाई ७–७ लाख रुपैयाँ विनियोजन गर्यौं । त्यसबाट दक्ष कामदारको ज्याला बाँडफाँड गर्ने, ढुवानी, आवश्यक बाह्य सामग्री जस्तै सिमेन्ट र रडहरू खरिद गर्ने काम गरिएको छ । यसले उनीहरूलाई रोजगारी बन्न मद्दत पु¥याएको छ र पारिश्रमिक पनि बढाएको छ ।

अर्को स्थानीयहरूको आर्थिक उपार्जन र जीविकोपार्जन नै मुख्य कुरा हो । हामीले वडामा आउने बजेटले ठूला सडक बनाउने, ढलान र पिच गर्ने, ठूला आलिसान भवन निर्माण गर्ने वा करोडौंको खानेपानी योजना संचालन गर्ने काम गर्न सकिँदैन । वास्तवमा, हामीले यहाँका दिनरात मेहनत गर्ने किसान र स्थायी बासिन्दाहरूको जीविकोपार्जन र आर्थिक अवस्था सुधार्ने काम गर्नुपर्छ भन्ने लाग्छ । तर, जनताहरू पक्की बाटो नहुनु, राम्रो विद्यालय र स्वास्थ्य चौकीको अभाव, तथा अन्य सुविधा छैन भनेर बसाइसर्ने क्रम पनि बढिरहेको छ । विकास त हुँदैछ, तर त्यहीसंगै बसाइसराइ पनि जारी छ । यसलाई रोक्न यहाँ बसेर काम गर्नेहरूलाई प्रत्यक्ष लाभ पुग्ने, पैसा आउने काममा जोड दिइएको छ ।

घर–घरमा सुविधा पु¥याउने उद्देश्यले गरिएको सडक विस्तार र स्तरोन्नतिपछि सवारी साधन सहजै घरसम्म पुग्न थालेका छन्, जसको परिणामस्वरूप बसाइसराइ बढेको देखिन्छ । अब, यस्तो अवस्थालाई कसरी नियन्त्रण गर्ने सोच्नु भएको छ ?

यो परिस्थितिले पारेको असर हो, हाम्रो उद्देश्य त्यस्तो थिएन र हामीले त्यो गर्न चाहेको पनि छैनौं । अब सडक ल्याउनु जरुरी थियो, जसले सुविधा पु¥यायो । एक घर एक धारा ल्याउनु आवश्यक थियो, जसले खोल्सामा जाने आमालाई सहजता र समय बचत गरायो । राम्रो विद्यालय बनाएर शिक्षक ल्याउनु पनि आवश्यक थियो र त्यो भयो, जुन राम्रो कुरा हो । विद्युतिकरण र घरघरमा इन्टरनेट समेत पुगेका छन्, जसले मनोरञ्जनदेखि काम गर्न सहयोग पु¥याएको छ । गाउँमा पनि यी सबै सुविधा उपलब्ध भएका छन् । तर, बसाइसराइ किन भइरहेको छ ? यो सवैका लागि प्रश्न हो ।

अब हामीले जोड दिनुपर्ने कुरा के हो भने, गाउँको बाँझो रहेको जग्गालाई उपयोग गर्नुपर्छ । सडक राम्रो बनेको छ । सडक र बाँझो जग्गाको सदुपयोग गरी आम्दानीको स्रोत बढाउनु आवश्यक छ । यो काम यहाँका किसानहरूले गर्न सक्छन् ।

बसाइसराइ गरेर शहर गएकाहरूको बाँझो खेत र बारीमा फलेको उत्पादन शहरमा पठाउने व्यवस्था गर्न सकिन्छ त ?
– पठाउन सकिने परिस्थिति बनाउनु जरुरी छ । हामीले गर्ने जुन काम थियो, त्यो गरिसक्यौं । तर एउटा चुनौती छ, विदेश जाने चाहना बढ्दैछ । उनीहरुलाई रोक्न मैले मिठा कुरा गरे पनि, जबसम्म महिनामा एक लाख रुपैयाँ कमाउने रोजगारी उपलब्ध गराउन सक्दिन, तबसम्म जति मिठा कुरा गरे पनि बस्दैनन् ।

बसाइ सर्ने कुरा त सम्पन्न भएर मात्रै हुन्छ । मज्जाले छोराले उता कमाएको छ, मैले बसेर खान सक्छु भन्ने अवस्था आएको छ । सुख्खाका दिनहरू आए भनेर सरेको हुनुपर्छ । विपन्न मान्छे जो अझै पसिना बगाएर आफ्ना परिवार पाल्दैछ, उसले बसाइ सर्ने सोच्दैन । अब गाउँमै बस्ने, उत्पादन गर्ने हो । राम्रो बाटो आएको छ, त्यसको प्रयोग गर्ने । विद्यालयमा राम्रा शिक्षकहरू छन् । नपढाउनु वा व्यवस्थापन गर्न नजानु भनेको समस्या हो, त्यहाँ के छ त्यसको सुधार गर्दै आफ्ना छोराछोरी गाउँकै विद्यालयमा पढाउने । सिचाईँ कुलो पनि आएको छ, जसलाई खेतबारीमा प्रयोग गरेर फाइदा लिन सकिन्छ । स्वास्थ्य चौकी राम्रो बनाइएको छ, कर्मचारी पनि थपिँदै छन्, उपचार पनि राम्रो हुँदैछ । अतिनुपरेको छैन ।

गाउँमै बस्ने, गाउँ बनाउने र म पनि बन्ने भन्ने कुरा राज्यले पनि, हामीले पनि र बस्ने मान्छेले गरेर गाउँमा बस्ने, गाउँमा रमाउने र गाउँलाई बनाउने कार्यक्रम ल्याउनुपर्ने छ । तर, हाम्रो बजेटले यी सबै सपना पुरा गर्न सक्दैन । हाम्रो वार्षिक बजेट वडा तहलाई ४० देखि ४५ लाख रुपैयाँ मात्रै आउँछ । साविकका ९ वटा वडामा एउटा वडालाई ५ लाख दिने हो भने, त्यो रकमले के योजना बनाउने ? एउटा परिवारलाई पनि ५ लाख रुपैयाँको कृषिमा लगानी पर्याप्त हुँदैन । त्यसैले यो विषय निकै जटिल छ । कुरा जतिसुकै राम्रो होस्, व्यवहारमा लागू गर्न गाह्रो हुन्छ । तर यो प्रयास नगरी पनि हुँदैन । उतार्नै पर्छ ।

हामीले साना–साना कामबाट सुरु गरेका छौं । जस्तै, बाँझो जग्गामा कृषिको आधुनिकीकरण गर्ने उद्देश्यले किसानहरूलाई मिनिटेलर हलो, च्याप्टर, यान्त्रिक उपकरण, भकारो सुधार, च्यान्सो मेसिन वितरण गरिरहेका छौं । बाँझो जग्गामा ओखर, टिमुर, एबोकाडो लगाएका छौं । मैले विदेशी स्वयंसेवकहरूसँग समन्वय गरी डोयरी बस्तीमा टिमुर, ओखर, एबोकाडो लगाइएको छ । यसरी मात्र नभई, बाहिर पनि समन्वय गरेर कृषिको क्षेत्रमा काम गर्नुपर्ने विश्वास छ । तर देखिने गरी, ‘आहा, यस्तो राम्रो काम भएको छ’ भनेर सबैलाई देखाउन सकिनेगरी गर्नुपर्ने चाहना पनि छ । काम सुरु भइसकेको छ, अब यसको परिणाम कस्तो आउँछ हेरौं ।

वडाको आगामी वर्षको बजेटमा के के समावेश गर्ने सोच छ ?
– बजेट निर्माण गर्दा हामी टोलस्तरको भेला गरेर, आवश्यक योजना त्यहीँका बासिन्दाबाट माग गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएका छौं । यही प्रक्रियालाई यो वर्ष पनि फलो गर्नुपर्छ भन्ने सोच छ । हामी हरेक वर्ष टोल–बस्तीमा पुगिरहेका छौं, यो वर्ष पनि जाने योजना छ । त्यहाँ गएर स्थानीयहरूको आवश्यकताअनुसार योजना संकलन गरिनेछ । विशेष रूपमा किसानहरूलाई प्रत्यक्ष प्रभाव पार्ने योजना समावेश गर्नुपर्ने आवश्यकता देखिएको छ ।

त्यसैगरी, रोजगार सिर्जनासम्बन्धी योजना पनि ल्याउने सोच छ, ताकि गाउँमै बस्नेहरूलाइ केही न केही रोजगारी उपलब्ध गराएर जीविकोपार्जनमा सहयोग पुगोस् ।

यसपछि अर्को महत्वपूर्ण पक्ष हो ‘वातावरण संरक्षण’ । बिग्रँदै गएको वातावरणको सुधार अत्यावश्यक देखिएको छ । अहिले खानेपानीका मुहानहरू सुक्दै गएका छन् र यदि ती समाप्त भए भने जति राम्रो बस्ती भएपनि उठेर भाग्नुपर्छ । त्यो निश्चित हो । त्यसैले खानेपानीको स्रोत जोगाउन यस वर्ष वन क्षेत्रमा पोखरी खन्छौं । गाउँमा बाजे–बुबाहरूले बनाएका पोखरीहरू निकै उपयोगी थिए, तर ती विनास भइसकेका छन् । अब ती पोखरीहरूको संरक्षण र सुधार गर्ने योजना आवश्यक छ ।

यस्तै, असजिला मोटरबाटाहरूको निर्माण पनि गर्नुपर्छ । प्राथमिकता त सडक हो, तर बजेट सीमित छ । जति सक्छौं, त्यति काम गरिनेछ ।

मानव विकास र सामाजिक क्षेत्र तर्फ के कस्ता योजना बनाउनु भएको छ ?
– मानव विकासको क्षेत्रमा हामीले सशक्तिकरणको पाटोमा थुप्रै कार्यक्रमहरू सञ्चालन गरेका छौं । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले शिक्षक तथा विद्यार्थीहरूलाई तालिम दिनुका साथै कक्षा कोठा सुधार, पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माण गरेका छौं । ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सञ्चालन गरेर आधुनिक प्रविधियुक्त शिक्षा प्रणालीतर्फ अघि बढ्ने प्रयासस्वरूप ल्यापटप वितरण गरिएको छ ।

महिला सशक्तिकरणको क्षेत्रमा पनि हामीले ध्यान केन्द्रित गरेका छौं । अहिले महिलाहरू गाउँका स्थायी बासिन्दा मात्र होइन, सामाजिक गतिविधि, उपभोक्ता समिति र अन्य जिम्मेवारीहरूमा पनि सक्रिय रूपमा सहभागी हुनुभएको छ । उहाँहरूको सशक्तिकरणका लागि विभिन्न सीपमूलक तालिमहरू, भजन–कीर्तन तालिम, बाजा वितरण, गाउँमा मेला, पर्व र उत्सवमा प्रयोग हुने भाँडावर्तन वितरणजस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

त्यस्तै, परम्परागत पेशा–व्यवसाय जस्तै आरन सुधार, बाजा सुधार, सिर्कमी र डकर्मी पेशामा संलग्न व्यक्तिहरूलाई प्रोत्साहन गर्ने योजनाहरू पनि जोडेका छौं । साथै, कृषि आधुनिकीकरणको क्षेत्रमा समेत निरन्तर काम भइरहेका छन् ।

समय दिनुभएकोमा धन्यवाद ।
– हाम्रो वडाको अवस्थाबारे जानकारी दिने अवसर प्रदान गर्नुभएकोमा जननिगरानी पत्रिका प्रति धन्यवाद व्यक्त गर्दछु ।